नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत अध्यक्ष केपी ओली अहिले जिल्लाको भ्रमणमा व्यस्त छन्।
यसै क्रममा पछिल्ला पाँच दिनमा उनले लुम्बिनी प्रदेशका जिल्लाहरू भ्रमण गरे।
लुम्बिनी भ्रमणको क्रममा एमाले अध्यक्ष ओली मिसन ग्रासरुटअन्तर्गतका राजनीतिक कार्यक्रमहरूमा सहभागी भए। तर उनी सहभागी राजनीतिक कार्यक्रम र गतिविधिभन्दा धार्मिक पर्यटकीय यात्रा बढी चर्चाको विषय बन्यो।
राजनीतिक उद्देश्यका साथ जिल्लाहरूमा पुग्दा उनी सम्बन्धित जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्न भ्याए। पार्टीको तल्लो तहमा मजबुत बनाउने अभियानमा मात्रै केन्द्रीत नभई प्रकृतिको स्वादपान पनि उनले गरे।
पूर्वप्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र अन्य कार्यकर्ताहरूसँग पर्यटकीयस्थलहरूमा खिचेका तस्वीरहरू सामाजिक सञ्जालमा साझा गरिरेहका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेका ती तस्वीरले यहाँका पर्यटकीय क्षेत्रको प्रचूर प्रचारमा सहयोग गरिरहेको छ। ओलीको आफ्नै सामाजिक सञ्जाल र सचिवालयले पनि पर्यटकीयस्थलहरूमा पुगेको फोटोलाई सार्वजनिक गरेका थिए।
यही चैत्र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आइपुगे। सोही दिन बुद्धजन्मस्थल लुम्बिनी घुमे उनी। लुम्बिनीमा ५ हजार क्षमताको सभाहल तथा ध्यान केन्द्रको चाँसोपूर्वक अवलोकन गरे। यो हल ओली प्रधानमन्त्री हुँदा २०७५ सालको बुद्धजयन्तीमा तत्कालीन राष्ट्रपति विद्यादेबी भण्डारीबाट शिलान्यास भएको थियो।
गत जेठमा बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहलको उद्घाटन गरेका थिए।
लुम्बिनीपछि ओली कपिलवस्तु पुगे। त्यहाँको बाडगंगा नगरपालिका ८ मा रहेको कपिलधाम गए। त्यहाँ कपिलमुनि वैदिक संस्कृत विद्यापीठ गुरुकुलका बटुक र स्थानियहरूसँग भेटे।
चैत्र १२ गते ओली कपिलवस्तुबाट अर्घाखाँची प्रस्थान गरे। अर्घाखाँचीको सुपादेउराली मन्दिरको दर्शन गरेर मसुरपाटा पुगे। सेल्फीडाँडा समेत भनिने मसुरपाटामा अध्यक्ष ओलीले पत्नी राधीकासँग बसेर खिचेको फोटो भाइरल भइरहेको छ।
त्यसपछि अर्घा भगवती मन्दिर पुगे। बाइसे चौबीसे राज्यहरूमध्येअर्घा छुट्टै राज्य थियो। ऐतिहासिक तथा धार्मिकस्थल अर्घामा सारंगी हातमा लिएको ओलीको फोटो पनि सामाजिक सञ्जालमा साझा भएको थियो, जसको प्रशंसकले खुलेर प्रशंसा गरिरहेका छन्। अर्घाखाँचीमा निर्माणाधीन विमानस्थलको पनि उनले अवलोकन गरे।
अर्घाखाँचीबाट चैत्र १३ गते गुल्मी गएर रेसुङ्गा पुगे। तम्घासमाथिको रेसुङ्गा गुल्मीको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हो। प्राचीन युगमा धेरै ऋषि महर्षिले यहाा तपस्या गरेको विश्वास गरिन्छ।
सोही दिन गुल्मीको धार्मीकस्थल रुरु क्षेत्रको यात्रा गरे। रुरु क्षेत्रमा रिणीको त्रिकोणात्मक पुलको अवलोकन गरे। कालीगण्डकी नदीमाथि रहेको त्रिकोणात्मक पुलले पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्दछ।
चैत्र १४ गते पाल्पाको कार्यक्रममा सहभागी भएपछि साँझ तान्सेनको पाल्पा दरवार सङ्ग्रालयको अवलोकन गरे। सोही रात पाल्पा बास बसी १५ गते बुधबार विहान कालिगण्डकी किनारमा रहेको रानीमहल झरे। तत्कालीन जनरल खड्ग शमसेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको बौघागुम्बास्थित कालिगण्डकीको किनारमा उक्त रानीमहल बनाएका थिए।
रानीमहल घुमेर ओली तान्सेन हुँदै बुटवल आए। बुटवल आइपुग्नु अघि पाल्पाको सिद्धबाबा मन्दिरमा पनि दर्शन गरे। मिसन ग्रासरुट र केही अन्य कार्यक्रम सकेर एमाले अध्यक्ष ओली बुधबार साँझ काठमाडौँ फर्केका छन्।
पूर्वप्रधानमन्त्री ओलीको भ्रमणले लुम्बिनी प्रदेशका पाँच जिल्लाको भ्रमणले यहाँका धार्मिक पर्यटकीयस्थलहरूको प्रवर्द्धनमा थप मद्दत मिल्ने आशा गरिएको छ।
Shares
प्रतिक्रिया