शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको विपक्षी दल कंग्रेसकी नेतृ सोनिया गान्धीको भिडियो सन्देश भएको एउटा ट्विट रिट्विट भयो।
पत्रकार शिवम विजले उक्त ट्विट गरेका थिए।
भिडियोमा गान्धीले नागरिकता संशोधन कानुनका विरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि भारतीय जनता पार्टीले गरेको दमनको विरोध गरेकी छन्। उनले नागरिकता संशोधन कानुन र नेसनल रजिस्टर अफ सिटिजन्सको विरोधमा भारतभर भइरहेका प्रदर्शनमा आफ्नो पार्टीको ऐक्यबद्धता पनि जनाएकी छन्।
प्रधानमन्त्रीको ह्यान्डलबाट यस्तो ट्विट आएपछि थुप्रैले त्यसबारे अनेक टिकाटिप्पणी गरेका छन्। केही समयपछि सो रिट्विट अनडु गरिएपनि यसले बालुवाटारमा तरंग नै ल्याएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्विटर ह्यान्डलको पासवर्ड दुरुपयोग भएको आशंकामा छानबिन भइरहेको स्पष्टीकरण दिएका छन्।
— Surya Thapa (@ThapajiSurya) December 20, 2019सम्माननीय प्रधानमन्त्रीज्यकाे twitter @PM_Nepal बाट अन्यथा retweet भएकाे देखिन अाएकाे छ। पासवर्डकाे दुरूपयाेग गरि यस्ताे गरिएकाे हुनसक्ने अाशंकामा छानविन भइरहेकाे छ । तसर्थ : कुनै प्रकारकाे भ्रम र गलतफहमीमा नपर्न अनुराेध गर्दछु ।
तर, सामाजिक सञ्जालमा थुप्रैले प्रधानमन्त्रीको सचिवालयको असावधानीका कारण यस्तो भएको टिप्पणी गरेका छन्।
केही भारतीय सञ्चारमाध्यमले यससम्बन्धी समाचार नै प्रकाशित गरेका छन्।
केही दिनयता भारतमा भएका प्रदर्शनमा १३ जनाको ज्यान गइसकेको छ।
Shares
प्रतिक्रिया