सर्लाहीमा सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीभित्रकै ९ जना ‘बागी’ उठेका छन्।
बागी उम्मेदवारी दिनेमा सबैभन्दा धेरै नेकपा माओवादी केन्द्रका नेता छन्। माओवादीका मात्रै ८ नेताले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।
पाँच दलीय गठबन्धनले बागी उठेका सबैलाई उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिइसकेका छन्।
प्रचण्डले कांग्रेसबाट भित्र्याए, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष सुरेन्द्र लामा र लोसपाका सर्लाही जिल्ला उपाध्यक्ष मोहम्मत हुसेन खानले मंगलबार विज्ञप्ति निकालेर बागीलाई पछि हट्न आग्रह गरेका हुन्।
निर्वाचन आयोगले बुधबारसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको छ। तर, सर्लाहीमा अहिलेसम्म कुनै बागीले उम्मेदवारी फिर्ता लिन सहमति जनाएका छैनन्।
बागीका कारण गठबन्धन नै भत्किने अवस्था सिर्जना भएको भन्दै जिल्लास्थित सत्तारुढ दलले सबै बागीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।
यसबारे सबै पार्टीले केन्द्रका शीर्ष नेतालाई समेत जानकारी गराउने निर्णय मंगलबारको बैठकले गरेको छ।
माओवादीका सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले सबै बागीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको जानकारी दिए।
‘हाम्रो पार्टीका बागी आठैजना नेतालाई उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छु,’ काफ्लेले नेपालखबरसँग भने, ‘तर, अहिलेसम्म कसैले फिर्ता लिन्छु भन्ने जवाफ दिनु भएको छैन। फिर्ता नभए उहाँहरुमाथि कारबाही हुने छ।’
सर्लाही क्षेत्र नम्बर ४ मा पार्टी कारबाहीमा परेका कांग्रेस नेता अमरेशकुमार सिंहले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। कांग्रेसले सिंहलाई तीन महिनाअघि नै पार्टीबाट निष्कासन गरिसकेको छ।
यो क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेसका कांग्रेसका नागेन्द्रकुमार राय उम्मेदवार छन्। आफ्नो उम्मेदवारीविरुद्ध सिंह उभिएपछि राय समस्यामा परेका छन्। ०७४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका सिंह विजयी भएका थिए।
त्यसैगरी सर्लाहीको क्षेत्र नम्बर १ को 'क' मा माओवादीका रामचन्द्र कुशवाहा र 'ख' मा राजनकुमार श्रेष्ठले बागी उम्मेदवारी दिएका छन्।
सर्लाही २ को 'क' मा कांग्रेसका शियाराम रायले बागी उम्मेदवारी दिएका छन्। सर्लाही ३ को 'क' मा माओवादी केन्द्रका जवाहरलाल कुशवाहा बागी उम्मेदवार छन्। कांग्रेस नेता कुशवाहा टिकटकै लोभमा तीन महिनाअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
सर्लाही ४ को प्रतिनिधि सभा सदस्यतर्फ माओवादी केन्द्रकी मधुमाला यादवले बागी उम्मेदवारी दिएकी छन्।
उनी माओवादी नेता शिवपुजन रायकी छोरी हुन्। उनलाई उम्मेदवारी दिन शिवपुजनले नै उचालेको आरोप गठबन्धनका अन्य नेताहरुको छ।
त्यसैगरी सर्लाही ४ 'क' मा पनि माओवादी केन्द्रका प्रितम कुमार यादव र 'ख' मा माओवादी केन्द्रकै श्रीचन यादव, महेन्द्र यादव र अनिता यादवले बागी उम्मेदवारी दिएका छन्। प्रितम माओवादी नेता शिवपुजनकै भतिज हुन्।
‘मैले शिवपुजन जीलाई फोन गरेर तपाईंका आफन्तलाई उम्मेदवारी फिर्ता लिनको लागि पहल गर्नुस् भनेको छु,’ इन्चार्ज काफ्लेले भने, ‘तर उहाँले आफूले भन्दा पनि कसैले नमानेको भनेर जबाफ दिनु भएको छ। यदि बागीलाई उम्मेदवारी फिर्ताको लागि शिवपुजन जीले पहल गर्नु भएन भने उहाँमाथि पनि कारबाही हुनसक्छ।’
माओवादीले शिवपुजन रायकी पत्नी मीना यादवलाई समानुपातिक तर्फबाट संघमा उम्मेदवार बनाएको छ। समानुपातिकमा उनको उम्मेदवारीप्रति पनि माओवादीका धेरै नेता कार्यकर्ताको असन्तुष्टि छ।
अघिल्लो निर्वाचनमा सर्लाही ४ बाट शिवपुजन रायलाई माओवादी केन्द्रले उम्मेदवारा बनाएको थियो। तर, रातो पासपोर्ट दुरुपयोग गरेको अभियोग लागेका रायको उम्मेदवारी निर्वाचन आयोगले त्यतिबेला खारेज गरेपछि यो क्षेत्र माओवादी उम्मेदवारविहीन भएको थियो।
रायविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले यो निर्वाचनमा माओवादीले उनलाई उम्मेदवार नबनाएको हो।
आफू उम्मेदवार बन्न नपाए पनि उनी श्रीमतीलाई पार्टीको समानुपातिक सूचीमा राख्न सफल भएका छन्।
Shares
प्रतिक्रिया