नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएका छन्।
सर्लाहीको सोल्टी बजारमा शनिबार दिउँसो माओवादी केन्द्र बागमती नगर समितिको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओलीको नाम नलिई आलोचना गरेका हुन्।
गत वर्ष ओलीले संविधान,संसद् र संघीय गणतन्त्र नै खारेज गर्न खोजे पनि आफूहरुले असफल पारिदिएको जिकिर प्रचण्डले गरे।
‘नेपालमा गणतन्त्र सम्भव छैन भनेर कराउने र संघीयताविरुद्ध प्रचार गर्नेले गत वर्ष संसद विघटन गरेर संघीय गणतन्त्र नै खारेज गर्ने षड्यन्त्र गरेका थिए’, उनले भने तर, ‘हामीले त्यसलाई सफल हुन दिएनौँ।’
अबको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा माओवादीको पक्षमा देशव्यापी जनलहर आउने दाबी पनि प्रचण्डले गरेका छन्।
प्रतिक्रियावादीहरुले सिद्याउने षड्यन्त्र गरे पनि माओवादी झनझन् बलियो हुँदै गएको तर्क उनले गरे।
आफ्नै पहलमा देशबाट नागरिकताको समस्या सधैँलाई समाधान भएको भन्दै उनले नागरिकताबाट बञ्चित सात लाख युवाले अधिकार पाउने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जबाहर कुशवाहा, जिल्ला सदस्य पशुपति कार्की, एमाले बागमती नगर कमिटी सचिव हरि खड्का, उपसचिव मीना कार्कीसहित नेता कार्यकर्तालाई प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अबिर र माला लगाउँदै स्वागत गरे।
काठमाडौं फर्किन ढिलो हुने भन्दै उनले पार्टी प्रवेशको कार्यक्रमलाई बीचमै रोकेर उपस्थित जनसमुदायलाई सम्बोधन गरेका थिए।
सम्बोधन गरेर प्रचण्ड हतारिँदै काठमाडौंको लागि हिँडेपछि उपाध्यक्ष श्रेष्ठले नव प्रवेशीहरुलाई अबिर लगाउन सुरु गरेका थिए। श्रेष्ठले पनि झण्डै एक घण्टा लगाएर नव प्रवेशीहरुलाई पार्टीमा भित्र्याएका छन्।
कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा, राप्रपा र मधेशवादी दलका गरी झण्डै एक हजार नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका माओवादीका युवा नेतासमेत रहेका बागमती नगरपालिकाका मेयर भरत थापाले दाबी गरे।
Shares
प्रतिक्रिया