ad ad

राजनीति


डडेल्धुरामा कांग्रेसलाई ‘कांग्रेसकै डर’, देउवालाई विरासत जोगाउने चुनौती

एमालेसँग मल्लको तालमेलले तनाव
डडेल्धुरामा कांग्रेसलाई ‘कांग्रेसकै डर’, देउवालाई विरासत जोगाउने चुनौती

फाइल तस्बिर


गोकुल जोशी
बैशाख २७, २०७९ मंगलबार १०:२५, डडेल्धुरा

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई स्थानीय तह निर्वाचन जित्न चुनौती थपिएको छ। 

पार्टीको आन्तरिक विवादले डडेल्धुरामा कांग्रेसलाई २०७४ सालको विरासत जोगाउन कठिन भएको हो।

कांग्रेसबाट कारबाहीमा परेका पूर्वसभापति कर्ण मल्लले एमालेसँग तालमेल गर्नु, सत्तारूढ दलभित्रै गठबन्धन नहुनु, टिकट वितरणले कांग्रेसमा असन्तुष्टि चुलिनुले देउवालाई गृहजिल्लामा विरासत जोगाउन हम्मे पर्ने देखिएको छ।

कारबाहीमा परेका मल्लले कांग्रेस (बीपी) बाट एमालेसँग तालमेल गरेर तीन स्थानीय तहको प्रमुखमा आफ्ना उम्मेदवार ‘करुवा’ चिन्हमा उठाएका छन्। 

प्रमुख प्रतिस्पर्धी नेकपा एमालेसँग कांग्रेस डडेल्धुराको संगठन निर्माणताका सक्रिय मल्ल मिलेपछि कांग्रेसलाई चुनाव जित्न सकस परेको हो।

‘मल्लजी कांग्रेसबाट बाहिरिँदा कांग्रेसको केही शक्ति क्षयीकरण भएको छ। त्यसले चुनावी माहोल बिग्रिएको छ,’ एक नेताले भने, ‘त्यसैले दाइ (देउवा) नै यहाँ आउनु भएको छ। उहाँको उपस्थितिले कार्यकर्तामा देखिएको अन्योल टुटेर एकताबद्ध भएर लाग्ने विश्वास छ।’

सोमबार गृहजिल्ला पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा

डडेल्धुरामा आन्तरिक असन्तुष्टिले कांग्रेस अफ्ठ्यारोमा परेपछि माहोल सम्हाल्न सभापति देउवा सक्रिय छन्। उनी आफैं गृहजिल्ला पुगेर आमसभालाई सम्बोधन गरिरहेका छन्। र, उनको तारोमा कर्ण मल्ल नै देखिन्छन्। 

सोमबार आफ्नो जन्मथलो डडेल्धुराको गन्यापधुरा पुगेका देउवा मल्लविरूद्ध खनिए। आफूपछि नेता बनाउँला भनेको व्यक्ति ओलीको चाकडी गर्न पुग्दा लाज लागेको टिप्पणी उनले गरे। देउवाले कर्ण मल्ल कतैबाट परिचालित भएको आरोपसमेत लगाएका थिए।

यसअघि देउवा पत्नी आरजु राणा देउवा पनि डडेल्धुरा आएर मल्लविरूद्ध खनिएकी थिइन्। डडेल्धुरामा नै बास बसेका देउवाले मंगलबार (आज) ११ बजे सदरमुकाम र २ बजे जोगबुढाको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले भित्री मधेस क्षेत्रको परशुराम नगरपालिकासहित ४ स्थानीय तह (भागेश्वर, गन्यापधुरा, आलिताल) प्रमुख, उपप्रमुख र नवदुर्गा गाउँपालिकामा उपप्रमुख पद जितेको थियो। तर, अहिले कांग्रेस यी स्थानीय तह जोगाउन नसक्ने अवस्थामा पुगेको छ।

एमाले–मल्ल मोर्चाबन्दी
एमालेले सदरमुकामको अमरगढी नगरपालिकामा प्रमुख र उपप्रमुखसहित नवदुर्गा गाउँपालिका प्रमुख पद जितेको थियो। 

तीमध्ये अहिले नवदुर्गा गाउँपालिकाका प्रमुख कविन्द्र विष्ट र अमरगढी नगरपालिकाकी उपमेयर संगीता भण्डारी नेकपा एकीकृत समाजवादीमा छन्। नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिका प्रमुख, उपप्रमुख पद जितेको थियो। 

मल्ल पक्षले परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा एमालेलाई सघाउने सहमति छ। यस्तै अन्य पाँच स्थानीय तहमध्ये तीन स्थानीय तहमा कांग्रेस बीपी र दुई स्थानीय तह प्रमुखमा एमालेले उम्मेदवार उठाएको छ। 

सदरमुकामको अमरगढी नगरपालिकामा एमाले र कांग्रेस बीपी गठबन्धनबाट प्रमुखमा बीपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थी चुनावी मैदानमा छन्। 

एमालेले पाएको अजयमेरु गाउँपालिकाको अध्यक्षमा पदम पाल र उपाध्यक्षमा बीपीका रामचन्द्र ऐर उम्मेदवार छन्। 

यस्तै नवदुर्गा गाउँपालिकामा कांग्रेस बीपीले अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा एमालेले वीरबहादुर विष्टलाई उठाएको छ। 

प्रमुख कांग्रेस बीपीको भागमा परेको गन्यापधुरामा अध्यक्षमा सुरेन्द्र माली र एमालेबाट उपाध्यक्षमा इन्द्र महरा चुनावी मैदानमा छन्। 

एमालेको भागमा परेको भागेश्वरको अध्यक्षमा रामबहादुर शाही र उपाध्यक्ष कांग्रेस बीपीबाट नरबहादुर ठकुराठी उम्मेदवार रहेका छन्।

कांग्रेसको ठूलो पंक्ति आफूसँग रहेको र एमालेसँग तालमेल गर्दा डडेल्धुरामा कांग्रेस पराजित हुने कांग्रेस बीपीनिकट एक नेताको दाबी छ। ‘डडेलधुराबाट कांग्रेस पत्तासाफ हुन्छ। हाम्रो गठबन्धनले सबै पालिका जित्छ,’ ती नेताले भने।

उता नेपाली कांग्रेस डडेल्धुरा कार्यबाहक सभापति डिल्लीराज जोशी कांग्रेस डडेल्धुरामा चुनाव जित्न सक्षम रहेको दाबी गर्छन्। ‘डडेल्धुरा कांग्रेसको गढ हो। हामी सहजै चुनाव जित्न सक्छौँ’, उनले भने, ‘असन्तुष्टिलाई मिलाउँदै ल्याएका छौँ।’

डडेल्धुरामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि एक्ला एक्लै चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .