भारतका चर्चित पत्रकार रवीश कुमारले शनिबार दिनभर काठमाडौँको मिडिया जगतलाई तताइरहे। भारतीय पत्रकारिताको दुर्दशाको दृष्टान्त दिँदै उनले बिहानैको भाषणमा ‘गोदी मिडिया’ को चर्चा गरे र नेपाली पत्रकारिता गजतलाई आफ्नो साख जोगाउन अहिल्यैदेखि सतर्क रहन खबरदारी गरे।
हिमाल मिडियाले स्थापनाको २५औं बर्षगाँठको अवसरमा आयोजना गरेको ‘हिमाल मिडिया मेला २०२२’ मा शनिबार बिहान प्रमुख वक्ताको रुपमा बोल्दै रवीश कुमारले भारतीय पत्रकारिताले प्रश्न गर्न छाडेर सत्ताको ‘गुलामी’ गरिरहेको आरोप लगाइरहँदा सभाहलमा खचाखच भरिएका काठमाडौँका सञ्चारकर्मी मध्ये केही ‘नेपाल अझै त्यो अवस्थामा नपुगेकाले सन्तुष्ट मान्नुपर्ने अवस्था रहेको’ कानेखुशी गरिरहेका थिए।
रवीशले भारतीय पत्रकारिताले सत्ताको गल्ति ढाकछोप गर्न सीमान्तकृत समुदाय ( मुस्लिम, दलित र आदिवासी) लाई ‘आतकंकारी र अराष्ट्रिय तत्व’ को रुपमा ‘फ्रेमिङ’ गरि समाजलाई ध्रुबीकरण गराइरहेको र त्यसले खतरनाक भविष्यको गर्तमा भारतीय समाजलाई धकेलिरहेको आफ्नो विश्लेषण सहभागीमाझ बाँडे।
‘भारतीय मिडियाले गरिरहेको यस्तो अभ्यासले समाजमा घृणाको राजनीति संस्थागत गरिरहेको छ, यो डरलाग्दो छ’, उनले नेपाली पत्रकारलाई सचेत गराउँदै भने, ‘यस्तो रोग नलाग्दै तपाईंहरू संयुक्त प्रयत्न गरिहाल्नोस्। ढिलो भएपछि पछुताउने सिवाय अर्को विकल्प बाँकी रहने छैन।’
शुक्रबार काठमाडौँ आइपुगेका रवीशलाई सुन्न राजधानीका करिब दुई सय सञ्चारकर्मी हिमाल मिडिया मेलामा सहभागी भएका थिए।
उनै रवीशलाई ‘हटसीट’ मा राखेर शनिबार साँझको दोस्रो सत्रमा हिमाल खबरपत्रिका मासिकका प्रकाशक तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भारतीय पत्रकारिताको बेथिति र त्यसले मुक्त समाजलाई पारेको प्रभावमाथि थप जान्न खोजेका थिए।
अँग्रेजी र नेपाली भाषामा पोख्त कनकले रवीशसँग हिन्दीमा संवाद चलाउन खोज्दा उनको ‘टुटेफुटे’ को हिन्दीले कार्यक्रमको रोचकता त बढाएको थियो तर त्यो बहस अपेक्षाअनुसार गहिराईमा जान नसक्दा रवीशबाट सुन्न सकिने कतिपय गम्भीर विषय छुटेको भान हुन्थ्यो।
आफ्नो भाषिक कमजोरी सच्याउँदै हिन्दीका वाकपटु रवीशसँग संवाद गर्न प्रयत्न गर्दा कनकको संज्ञानमा भएका भारतीय समाजले भोगिरहेका कयौं मुद्दा बहसमा आउन पाएनन्। जस्तो, यदि कनकले अँग्रेजीमा संवाद चलाएका भए असीको दशकको इन्दिरा गान्धीको आपतकाल र अहिलेको मोदीकालको सेन्सरसीप (रवीशले भन्ने गोदी मिडया) बीच के भिन्नता छ भनेर खोतल्न सक्थे।
भारतमा पत्रकारितालाई पंगु बनाइएपछि कसरी सत्ताले न्यायालयको दुरुपयोग गरि अल्पसंख्यकको भावनालाई कुल्चँदै बाबरी मस्जिद जस्ता प्रकरणमा ‘अन्ध न्याय’ गरिरहेको छ? रवीश–कनक संवादमा छुटेको अर्को पक्ष हो यो।
राजकाजमा आफ्नो अक्षमता छिपाउन मुस्लिम समुदायलाई ‘आतंककारी र अराष्ट्रिय’ बनाउने मोदीराजको डिजाइनमा ‘गोदी मिडिया’ ले उरालेको यस्तो घृणित राजनीतिको अभिष्ट त्यो भन्दापनि बढी छ भन्ने तथ्य उसले कस्मिरको स्वायत्तता खोस्न गरेको तिगडमबाजीले नै स्थापित गरिसकेको छ।
दक्षिण एशियाली राजनीतिमा विशेष दख्खल राख्ने कनकलाई यी सबै तथ्य राम्ररी थाहा छ। रवीश यी सबै मुद्दामा आफ्नो बलियो अडानका साथ सत्ताको विपक्षमा खडा देखिएका छन्। सायद समयको कमी र हिन्दी भाषामा अल्झिँदा कतिपय विषय संवादमा छुट्न गए।
यद्यपि रवीशसँग कनकको संवाद निकै रमाइलो र ज्ञानमूलक रह्यो।
शनिबार हिमाल मिडिया मेलाले कोरोनाले अलगथलग बनाइदिएको सञ्चारजगतलाई एउटा गजबको बौद्धिक थलो मात्र उपलब्ध गराएन, सधैं प्रतिपक्षीय भूमिकामा देखिएका रवीश कुमार जस्ता सशक्त पात्रलाई नेपाली सञ्चारकर्मी माझ प्रत्यक्ष उभ्याइदियो।
भिडिओमा हेर्नुहोस्, दक्षिण एसियाका दुई चर्चित पत्रकार रवीश कुमार र कनकमणि दीक्षितबीच चलेको रोचक संवादः
भिडिओः विशाल कार्की
Shares
प्रतिक्रिया