ad ad

राजनीति


सत्ता गठबन्धनसँग भिड्न तम्तयार कमला बोहरा

सत्ता गठबन्धनसँग भिड्न तम्तयार कमला बोहरा

फाइल तस्बिर : कमला बोहरा


गोकुल जोशी
बैशाख १६, २०७९ शुक्रबार ८:०, कञ्चनपुर

देश संघीयतामा गएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा थोरै मात्रै महिलाको उम्मेदवारी परेको छ। तीमध्येकी एक हुन कञ्चनपुरको बेलौरी नगरपालिका–३ की ३४ वर्षीया कमला बोहरा।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले उनलाई बेलौरी नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र–एकीकृत समाजवादीको वामगठबन्धनविरुद्ध मेयरका लागि चुनावमा उतारेको छ। 

विद्यार्थी पृष्ठभूमिबाट नेकपा एमालेको मूल राजनीतिमा प्रवेश पाएकी बोहरा अहिले कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीको मेयर बन्ने दौडमा छिन्।

वि.सं. २०५६ मा तत्कालीन लक्ष्मीपुर गाउँ विकास समिति–९ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दादेखि नै राजनीतिमा लागेकी थिइन्, उनी। 

त्यतिबेला कमला एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालय कमिटी सचिव थिइन्। 

अनेरास्ववियुको विद्यालय कमिटी हुँदै वि.सं. २०५९ सालमा क्षेत्र नम्बर १ कमिटी अध्यक्ष बनेकी उनी वि.सं. २०६१ सालमा जिल्ला कमिटी सदस्य बनिन्।

उनले अध्ययन पनि सँगसँगै अगाडि बढाएकी थिइन्। बेलौरीको लक्ष्मी माध्यमिक विद्यालयबाट वि.सं. २०६० सालमा एसएलसी उत्तीर्ण गरेकी कमला वि.सं. २०६४ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनिन्।

उनी महेन्द्रनगर र काठमाडौँ भएका हरेक विद्यार्थी आन्दोलनको अग्रमोर्चा उभिइन्। सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा स्थापना गर्न माग गर्दै भएको आन्दोलनको नेतृत्वकर्तामध्येकी एक कमला पनि थिइन्।

निडर, हक्की स्वभावकी उनलाई साथीहरुले ‘उग्रचण्डी’को उपनामले पनि चिन्छन्। वि.सं. २०६५ सालमा जनता बहुमुखी क्याम्पसको स्ववियु सभापति उनले वि.सं. २०६६ सालमा स्नातक गरिन्। 
त्यसपछि वि.सं. २०७० सालमा पाटन क्याम्पसबाट स्नातकोत्तर गरेकी कमलाले चीनबाट कानूनमा एलएलएमसम्मको अध्ययन गरेकी छन्। वि.सं. २०७५ मा चीनको इष्ट चाइना विश्वविद्यालयबाट उनले एलएलएम उत्तीर्ण गरेकी हुन्।

चीनमा एलएलएम गरेर फर्केकी कमलाका लागि जागिरको ढोका खुला थियो। तर, उनले राजनीतिलाई रोजिन्। 

‘विदेशमा पढेको ज्ञान, सीपको प्रयोग गर्दै आफ्नो ठाउँ समृद्धि बनाउन सकिन्छ भनेर राजनीतिमा होमिएकी हुँ,’ उनले भनिन्, ‘समाज रुपान्तरणको जिम्मेवारी हाम्रो हो। त्यसैले समृद्ध समाज निर्माणका लागि मेयरमा उम्मेदवारी दिएकी छु।’

स्वतन्त्र विद्यार्थी युनियन काउन्सिलको सुदूरपश्चिम प्रदेश प्रमुख हुँदै अनेरास्ववियुको केन्द्रीय महिला विभाग प्रमुख र संघीय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेकी उनले वि.सं. २०६८ सालमा एमालेको मूलधारमा प्रवेश पाइन। उनी त्यस बेला नेकपा एमाले कञ्चनपुरको सदस्य बनिन्।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि कमला वि.सं. २०७५ सालमा प्रदेश कमिटी सदस्य बनेकी थिइन्।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठित भूमिसम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्ष बनेकी उनी ९ औँ महाधिवेशनमा देशकै कान्छी प्रतिनिधि थिइन्।

एमालेको चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी अहिले कञ्चनपुर सह–इन्चार्ज समेत हुन्। 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सफल भए नगरको मुहार फेर्ने उनी बताउँछिन्। 

‘मेयर एक राजनीतिकर्मी मात्र नभएर नगरको विकासको मोडल तयार पार्ने राम्रो व्यवस्थापक हुनुपर्छ,’ उनले भनिन्, ‘त्यो गुण ममा छ, जनतामा आशा जगाउँदै आफ्नो कर्म गरिरहने छु।’

निःशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी उनका मुख्य एजेण्डा छन्। सदरमुकाम महेन्द्रनगर सारिए पछि ओझेलमा परेको बेलौरीलाई फेरि पूर्ववत् अवस्थामा फर्काउने योजना आफूसँग भएको कमलाले बताइन्।

‘सिंहदरबारको अधिकार गाउँघरमा पुगे पनि कार्यान्वयन भएको छैन। म त्यो निर्णय कार्यान्वयन गराएर नगरमा शिक्षा, स्वास्थ्य निःशुल्क उपलब्ध गराउँछु,’ उनले भनिन्, ‘सांस्कृति, व्यापारिक, प्रशासनिक महत्व बोकेको नगरलाई पुरानै अवस्थामा फर्काउँछु।’

त्यसबाहेक मेयर भएर यहाँका महिला, दलित, पिछडिएको वर्ग, थारु, गरिबको जीवन उत्थान, हिंसा रहित समाज निर्माणमा लाग्ने उनको भनाई छ। 

‘महिलाले पनि कुशल ढङ्गले पुरुषको जस्तै नेतृत्व गर्न सक्छन्,’ उनले भनिन्, ‘महिलाले मूलधारमा नेतृत्व नपाएको अवस्थामा पार्टीले विश्वास गरेर टिकट दिएकोमा आभारी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .