ad ad

राजनीति


रमेश र एनपीको टकरावले संकटमा गठबन्धन

रमेश र एनपीको टकरावले संकटमा गठबन्धन

गोकुल जोशी
बैशाख ११, २०७९ आइतबार २१:१७, महेन्द्रनगर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय रमेश लेखक र एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा सत्तागठबन्धन धरापमा परेको छ। 

स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भइसक्दा पनि कञ्चनपुरमा सत्तागठबन्धनमा आबद्ध दलहरुले भागबन्डा मिलाउन सकेका छैनन्। 

नेपाली कांग्रेसका कारण कञ्चनपुरमा सत्तागठबन्धन चुनावसम्म कायम रहने सम्भावना कम हुँदै गएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जीवनराज थापाले बताए। 

उनका अनुसार कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेलको अन्तिम तयारी भएको छ।

‘नेपाली कांग्रेसले हामीलाई वार्तामा बोलाएको छैन। प्रदेश र केन्द्रबाट जे हुन्छ,’ उनले भने, ‘अहिलेसम्म केही भएको छैन। कांग्रेसले वार्ताको पहल गर्नु पर्ने हो। त्यसो केही भएको छैन। हामी गठबन्धन कायम नरहे माओवादीसँग मिलेर जाने भन्ने छ।’

उनका अनुसार माओवादी केन्द्र ५ र समाजवादी ४ स्थानीय तह लिएर चुनावमा जानेमा सहमति भएको छ। 

‘पालिकामा लगभग सहमति जुटेको छ। वडाको टुंगो लगाउँदै छौँ’ उनले भने।

कांग्रेस बाहेकको गठबन्धन भएमा माओवादी केन्द्रले भीमदत्त, बेलौरी, लालझाडी, कृष्णपुर तथा दोधाराचाँदनी र बेलडाँडीमध्ये एक र एकीकृत समाजवादीले पुनर्वास, वेदकोट, शुक्लाफाँटा तथा दोधाराचाँदनी र बेलडाँडीमध्ये एक स्थानीय तह लिने छन्।

रमेश र एनपीको टक्करले सहमति जुटेन
नौ स्थानीय तह रहेको कञ्चनपुरमा कांग्रेसले पाँच वटामा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख पदमा उम्मेदवार बनाउने जिल्ला तहमा खाका बनाइएको थियो। 

तर यसमा पछिल्ला दुई दल मानिरहेका छैनन्। सहमति नजुटेपछि भागबन्डाको जिम्मा प्रदेश संयन्त्रलाई दिइएको छ।

नेकपा माओवादी केन्द्रले जितेको बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटासहित ४ स्थानीय तह दाबी गरेको थियो। 

यस्तै, नेकपा एकीकृत समाजवादीले पुनर्वास नगरपालिका, वेदकोट नगरपालिकासहित एक गाउँपालिकामा दाबी गरेको थियो। 

वि.सं. २०७४ को चुनावमा दुई स्थानीय तहमा मात्रै प्रमुख पद जितेको नेपाली कांग्रेसले भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, दोधाराचाँदनी नगरपालिका र बेलडाँडी गाउँपालिकामा दाबी गरेको छ।

जिल्लामा सहमति नजुटेको ५–२–२ को यो खाकामा प्रदेशमा सहमति जुटे पनि केन्द्रमा पठाउँदा अस्वीकृत भएर आएको एक नेताको दाबी छ।

नेपाली कांग्रेसका नेताद्वय लेखक र साउदको आपसी प्रतिस्पर्धाले गठबन्धनमा सहमति जुट्न नसकेको ती नेताको दाबी छ।

‘उहाँहरु (रमेश र एनपी) संसदीय चुनावलाई दृष्टिगत गरी आफ्नो निर्वाचन क्षेत्रका पालिका कांग्रेसले नै राख्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ,’ ती नेताले भने, ‘भागबन्डा मिलाउन केन्द्र र प्रदेशमा छलफल चलिरहेको छ। अन्तिमसम्म केही निष्कर्ष त आउँछ।’ 

लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ र साउद क्षेत्र नम्बर २ बाट निर्वाचन लड्दै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .