व्यापक विरोधकाबीच गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई पदबाट हटाएको छ।
चैत १८ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीसहित ४ जना सदस्यलाई २४ घण्टे स्पष्टीकरण पत्र थमाएको थियो। सरकारले चैत २४ गते पदबाट हटाउने अर्को निर्णय गरेको हो।
अध्यक्षसहित सबैको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनीहरुलाई पदबाट बर्खास्त गरिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए।
शुक्रबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मन्त्री खड्काले भने,‘ सफाइ पेश गर्ने मौका दिएको थियो तर चित्तबुझ्दो नभएकाले संक्रामक तथा सरुवा रोग अस्पतालको व्यवस्थापन तथा सञ्चालन आदेश बमोजिम हटाइएको छ।’
यसअघि बिहीबार प्राडा पौडेलले पत्रकार सम्मेलनमार्फत सरकारको निर्णयलाई कानूनी चुनौती दिने घोषणा गरिसकेका छन्।
यसैगरी सरकारले गण्डकीका ११ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीलाई पनि बर्खास्त गरेको छ।
विभागीय मन्त्रालयले हटाउने सिफारिस गरेको आधारमा उनीहरुलाई हटाइएको मन्त्री खड्काले बताए।
युवा तथा खेलकुद मन्त्रालय दीपक मनाङे मातहत छ।
आचारसंहिता लागू हुनुपूर्व नै यसअघिका सरकारले नियुक्त गरेका पदबाट उनीहरुलाई हटाइएको हो।
सरकारले संसदको अधिवेशन चैत २५ गतेबाट समाप्त गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।
Shares
प्रतिक्रिया