नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट सरकार बनाउने भएपछि लोकतन्त्र किन चाहियो भन्ने प्रश्न गरेका छन्।
उनले संसदबाट सरकार बनाउन नसकेर परमादेश ल्याएको आरोप पनि लगाए।
‘जनतामा जान नसकेर परमादेशबाट सरकार ल्याए, संसदबाट होइन, अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो?’ उनले भने।
उनी पोखरामा सोमबार मानवअधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै थिए। आफू नेतृत्वको दुई तिहाइको सरकार गलत तत्वहरुले सहन नसकेर फालेको ओलीले दाबी गरे। पार्टीभित्र र बाह्य शक्तिहरु मिलेर आफ्नो सरकार ढलाएको उनको जिकिर थियो।
‘केही अवाञ्छित गलत तत्वहरुले सहन सकेनन्', उनले भने, ‘प्रतिक्रियावादीहरुसँग मिलेर भित्रका शक्तिहरु र बाह्य शक्तिहरुसँग मिलेर हामीलाई फाल्छन्।’
उनले आफूलाई असफल भनिएकोमा चित्त दुखाए।
‘केही मान्छेहरु भन्छन्, केपी ओली असफल भयो, दुई तिहाइको सरकार टिकाउन सकेन’ उनले भने, ‘यो दुई तिहाई कसरी पुर्याइयो भनेर कसैले भन्दैनन्।’
दुई तिहाइको सरकार आफूहरुको संघर्ष र आन्दोलनबाट बनाउन सफल भएको भन्दै उनले भने, ‘कसैले दुई तिहाई गिफ्ट दियो मैले खसाएर फुटाए? कि त्यो हामीले आर्जन गरेको हो?’
आफू सरकारमा हुँदा जनतामा नयाँ आशा, उत्साह, राष्ट्रिय जागरण र संकल्प अघि बढेको ओलीको दाबी थियो।
Shares
प्रतिक्रिया