गण्डकी सरकारले प्रदेशका ३ जना विशिष्ट व्यक्तिलाई ‘गण्डकी रत्न’ले सम्मानित गर्ने भएको छ।
विभूषित व्यक्तिलाई सार्वजनिक सभा÷समारोहमा प्रदेश सभा सदस्यसरह मान्यता र सुविधा दिइने पनि प्रदेश सरकारले जनाएको छ। जीवनको उत्तरार्द्धमा विभूषित व्यक्तिको संरक्षणको जिम्मा पनि सरकारले नै लिनेछ।
गण्डकी प्रदेश सरकारको सोमबारको बैठकले गरेको निर्णय अनुसार हरेक वर्ष सम्मानित गरिने व्यक्तिलाई विभूषित हुँदा तक्मा र प्रमाणपत्र दिइनेछ भने प्रदेश सरकार मातहत रहेका अस्पतालमा निशुल्क सुविधा हुनेछ।
सरकारका प्रवक्ता भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले ती व्यक्तिहरुलाई गण्डकी प्रदेशभित्र रहेका विमानस्थलको अति विशिष्ट कक्षको सुविधा दिइने पनि जानकारी दिए।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले ‘विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८’ स्वीकृत गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, उद्योग,पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि लगायत क्षेत्रमा योगदान पुर्याएका प्रदेशवासीलाई विभूषित गरिने उनले जनाए।
सम्मानयोग्य व्यक्ति प्रदेश सरकारले बनाएको सिफारिस समितिले छनोट गर्नेछ भने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ। सिफारिस समितिमा मन्त्रिपरिषद्को वरिष्ठ सदस्य अध्यक्ष रहने व्यवस्था छ।
अर्थमन्त्री, आन्तरिक मामिलामन्त्री, प्रमुख सचिव सदस्य रहने छन्। समितिको सदस्य सचिव आन्तरिक मामिलामन्त्री रहेका छन्।
गण्डकी रत्न प्रदेशकै ठूलो सम्मान भएको उनले बताए।
Shares
प्रतिक्रिया