ad ad

राजनीति


सर्वोच्चमा आन्दोलनरत पाँच न्यायाधीशको 'विद्रोह'

दुई बार र न्यायाधीशको बैठक बहिष्कार
सर्वोच्चमा आन्दोलनरत पाँच न्यायाधीशको 'विद्रोह'

उजिर कार्की
कात्तिक २९, २०७८ सोमबार १६:३०, काठमाडौँ

सर्वोच्च अदालतमा आन्दोलित पाँच न्यायाधीशले 'विद्रोह' गरेका छन्।

करिब चार सातादेखि जारी आन्दोलनमा सहभागी १९ मध्ये ५ जनाले सर्वोच्चका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको संयुक्त बैठक बहिष्कार गरेका हुन्। 

उनीहरु अहिले सर्वोच्चकै एनेक्स भवनमा जारी तीन पक्षको बैठकमा सहभागी भएका छैनन्। तर सर्वोच्चका वरिष्ठ न्यायाधीशहरु हरिकृष्ण कार्की, दीपक कार्की र सपना प्रधान मल्लसहित १४ न्यायाधीश भने बैठकमा सहभागी छन्।

उक्त बैठक बहिष्कार गर्ने न्यायाधीशहरूमा न्यायाधीश तेजबहादुर केसी, कुमार चुँडाल, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा रहेका छन्। 

न्यायाधीश शर्मा यसअघि आन्दोलित न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ताका लागि गठित तीन सदस्यीय समितिका सदस्य थिए। 

प्रधानन्यायाधीश जबराले सोमबार दुवै बारलाई वार्तामा बोलाएका थिए। तर नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरासँग वार्तामा नबस्ने बताउँदै पदबाट राजीनामा दिन भनेका थिए। 

जबराले वार्तामा बोलाएपछि आन्दोलित न्यायाधीशहरु र दुवै बारका पदाधिकारीबीचको बैठकले थप रणनीति बनाउने भएको छ।

चार सातादेखि आफूविरुद्ध जारी आन्दोलन थामिने नदेखेपछि जबराले सोमबार दुवै वारलाई आन्दोलन छाडेर संवादमा आउन भनेका थिए।

जबराले २ पृष्ठ लामो विज्ञप्तिमा सर्वोच्चसहित अदालतहरूमा गोलाप्रथा प्रणाली लागु गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए।

यस्तोमा नेपाल बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले गरेको वार्ता प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .