ad ad

राजनीति


सर्वोच्चमा अनौठो दृश्य :  खाली इजलासमा बहस गर्दै वकिल, न्यायाधीश र कर्मचारी छैनन्

सर्वोच्चमा अनौठो दृश्य :  खाली इजलासमा बहस गर्दै वकिल, न्यायाधीश र कर्मचारी छैनन्

फाइल तस्बिर


उजिर कार्की
कात्तिक २६, २०७८ शुक्रबार १२:५५, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि पेशी तोकेका सात वटामध्ये चारवटा इजलासमा अधिवक्ताहरूले बहस गरिरहेका छन्। 

न्यायालय चल्नुपर्छ भन्दै सेतो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका वकिलहरूले सर्वोच्चमा शुक्रबारलाई तोकिएका चारवटा इजलासमा बहस थालेका हुन्। 

तर वकिलहरूले खाली इजलासमा बहस गरिरहेको अनौठो दृश्य सर्वोच्चमा देखिएको छ।

ती चारवटै इजलासमा न्यायाधीश र कर्मचारी दुवै उपस्थित भएका छैनन्। न्यायाधीशहरूले प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएर इजलास बहिष्कार गरेका छन्। 

न्यायाधीशको बहिष्कारपछि इजलासमा कर्मचारी पनि उपस्थित नहुँदा वकिलहरूले एक्लै बहस गरिरहेका छन्।

अधिवक्ताहरू स्वागत नेपाल, कृष्ण प्रसाई, अनिल उपाध्याय, दिपेन्द्र घिमिरे, श्रीधर न्यौपाने, पृथ्वीनाथ राईसहित १० जना अधिवक्ताहरूले चारवटै खाली इजलासमा बहस गरेका हुन्। 

सर्वोच्चको इतिहासमै पहिलो पटक वकिलहरूले खाली इजलासमा बहस गरेका हुन्। 

अहिले न्यायालय चल्नुपर्ने पक्षका वकिलहरूले इजलास नम्बर ७, ६, ४ र ३ मा बहस गरिरहेका छन्। 

शुक्रबारका लागि इजलास नम्बर ३ मा न्यायाधीश हरिकृष्ण कार्की, ४ नम्बरमा विश्वम्भरप्रसाद श्रेष्ठ र हरि फुयाँललाई तोकिएको छ।

त्यसैगरी ६ नम्बरमा आनन्दमोहन श्रेष्ठ र सुष्मालता माथेमालाई तोकिएको छ। इजलास नम्बर ७ मा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मालाई तोकिएको छ। 

अधिवक्ता स्वागत नेपालले न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा बहस गरिरहेका छन्। उनी प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनका एकजना अगुवा न्यायाधीश हुन्। 

त्यस्तै वकिलहरूले विश्वम्भर प्रसाद श्रेष्ठ र हरि फुयाँलका लागि तोकिएको चार नम्बर इजलासमा पनि बहस गरिरहेका छन्। त्यहाँ पनि न्यायाधीश र कर्मचारी छैनन्।

जबराले शुक्रबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। उनले पेसी तोकेकामध्ये सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ। प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलास तोकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .