ad ad

राजनीति


सर्वोच्चमा विवाद : कुमार चुँडालले गरे सुनुवाइ, अन्य न्यायाधीश अन्योलमा

सर्वोच्चमा विवाद : कुमार चुँडालले गरे सुनुवाइ, अन्य न्यायाधीश अन्योलमा

फाइल तस्बिर


उजिर कार्की
कात्तिक २२, २०७८ सोमबार १२:५५, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडालले सोमबार बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ गरेका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नोमा समेत पेसी तोकेपछि अन्य न्यायाधीशले बहिष्कार गरेको अवस्थामा चुँडालले भने बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ गरेका हुन्। 

चुँडालले बन्दी प्रत्यक्षीकरणको एकल इजलासमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश पनि जारी गरिसकेका छन्। तर अन्य न्यायाधीश भने प्रधानन्यायाधीश जबराले आफ्नोमा पनि पेसी तोकेको भन्दै सुनुवाइमा सहभागी भएका छैनन्। 

एउटा मुद्दाको सुनुवाइ गरेका चुँडालको प्रधानन्यायाधीशसँग पनि संयुक्त इजलास छ। जबरासँगको संयुक्त इजालसमा बन्दी प्रत्यक्षीकरणकै दुईवटा रिट रहेका छन्। 

तीन सातादेखि आन्दोलित अन्य न्यायाधीशहरु प्रधानन्यायाधीशले आफ्नो समेत इजलास तोकेपछि अन्योलमा छन्। आन्दोलित ती न्यायाधीशले जबराले आफ्नोमा सुनुवाइ तोकेका दिन इजलासमा नजाने भनेका थिए।

तर आन्दोलितमध्येकै एक चुँडालले जबराले आफ्नो पनि पेसी तोकेकै दिन मुद्दाको सुनुवाइ गरिदिएका छन्। 

सोमबार जबराले ६ वटा इजलास तोकेका छन्। जसमा दुईवटा एकल इजलास र चारवटा संयुक्त इजलास छन्। 

तर ती सबै इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका रिट भने पेशी चढाइएको छैन। सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध गरिरहेका छन्। 

न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट हेरेका छैनन्। कानुन व्यवसायीले पनि कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन्। 

सोमबार पनि एक घण्टा विरोधका कार्यक्रम गरेको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। 

सोमबार दिउँसो नेपाल बारले ९० वटै बार इकाइसँग छलफल गरेर थप विरोधका कार्यक्रम तय गर्ने श्रेष्ठले बताए। 

यसअघि आइतबार पनि भर्चुअल छलफल भएको थियो। नेपाल बारले प्रधानन्यायाधीश राणालाई मुद्दा नहेर्न र राजीनामा दिन भने पनि राणाले आफ्नो पनि इजलास तोकेका छन्।

यसअघि उनले सुरुका केही दिन एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गरे पनि बार र न्यायाधीशको विरोधपछि आफूबाहेकको मात्रै इजलास तोक्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .