प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्ने आश्वासन दिएका छन्।
सोमबार हेलिकोप्टरबाटै विमानस्थलको भौतिक निर्माण हेरेर तल ओर्लेका उनले सबैको कुरा सुनेपछि समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘काम नरोक्नू, अरु काम हुँदै गर्छ’,उनले भने।
प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले निर्माण क्रममा देखिएका समस्याबारे जानकारी गराएका थिए।
विमानस्थलको पूर्वतर्फ रहेको रिट्ठेपानी डाँडा कटानका लागि पूरक ईआईए गर्नुपर्ने भए पनि पुन: निर्णय गर्नुपर्ने देखिएको, विमानस्थलमा नहर, ढल र बर्खामा आकाशे पानीले समस्या ल्याउँदा विमानस्थलको पूर्वतर्फ पहिरो गएकाले व्यवस्थापन हुनुपर्ने, ढलको पानी तर्काउनुपर्ने,विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइट सार्नुपर्ने, नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउनुपर्नेलगायत समस्या रहेको जानकारी गराएका थिए।
तोकिएकै समयमा काम भएको भए यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु भइसक्थ्याे।
चिनियाँ कम्पनी सीएएमसीले सन् २०२१ जुलाई १० मा विमानस्थल नेपाली पक्षलाई हन्तान्तरण गर्ने घोषणा गरेको थियो।
तर काेराेना महामारीका कारण ठेकेदार कम्पनीले एक वर्ष समय थपेकाे छ।
विमानस्थलको रनवे,ट्याक्सी वे, एप्रोन,पार्किङ र ह्याङ्गर एप्रोन, बत्ती जडानका काम भइसकेका छन् भने भित्री बाटोको काम पनि ७० प्रतिशत सकिएको छ।
विमानस्थलको टर्मिनल भवन तयार छ। समग्रमा विमानस्थलको ८४ प्रतिशत भौतिक काम सकिएको मुनाकर्मीले बताए।
Shares
प्रतिक्रिया