२०७५ भदौको तेस्रो साता पोखरामा भएको मुख्यमन्त्रीहरुको भेलामा भाग लिन आउँदा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतले भनेका थिए, ‘प्रदेश नचाहँदा–नचाहँदै जन्मेको बच्चाजस्तो भयो, बच्चाका लागि आमाबाबुको माया, प्रेम जुन चाहिन्छ त्यो भएन।’
उनले संघीयता आएपनि अधिकार बाँडफाँटमा संघ सरकार अनुदार भएको आरोप लगाएका थिए।
३ वर्ष बितिसकेको छ। तर, अधिकार बाँडफाँडको मामिलामा संघ सरकार उस्तै अनुदार छ। सीडीओको अधिकार कटौती भएकै छैन। मुख्यमन्त्रीहरुको पोखरा सम्मेलनले जारी गरेको ८ बुँदे घोषणापत्रमा उल्लेख गरिएको प्रदेश प्रहरी गठन अझै हुन सकेको छैन।
संयोग कस्तो भने, प्रदेश नम्बर २ का मुख्यमन्त्रीले जहाँ आएर संघ सरकारप्रति औंला ठड्याएका थिए, त्यहाँ यतिबेला नयाँ मुख्यमन्त्री छन्। हिजो तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निम्तोमा पोखरा आएका रावत पुनः पोखरा आएका छन्। त्यो पनि अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निम्तोमा।
बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु गर्दा गण्डकीका पर्यटनमन्त्री मणिभद्र कँडेलले प्रदेश नम्बर २ मै पुगेर रावतलाई निम्तो दिएका थिए।
त्यही निम्तो मान्न पोखरा आएका उनले मुख्यमन्त्री सम्मेलनको प्रसंग सम्झँदै भने, ‘त्यो बेला केन्द्र र ६ प्रदेशमा कम्युनिस्ट पार्टीकै सरकार थियो, अधिकार हस्तान्तरण गर्न असहज थिएन तर त्यतिबेला प्रधानमन्त्रीज्यू प्रदेशका कुरा सुन्न नै चाहनु भएन।’
भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तीकरण, सरसफाइजस्ता अभियान थालेको उनले बताए। विकासका सवालमा प्रदेश नम्बर २ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अधिकार बाँडफाँटमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिएको बताए। राजश्वको बाँडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले प्रदेश विकासका आवश्यकताहरु पूरा हुने अवस्था नरहेको पनि उनको भनाइ थियो।
‘ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा बाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान दिएको छैन’,उनले थपे।
मुख्यमन्त्री नेपालीले मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको पनि बताए।
गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणमा पोखरा आएको प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत नेतृत्व टोलीले ३ दिन यस क्षेत्रमा बिताउनेछ। बुधबार दिउँसो पोखरा विमानस्थलमा मुख्यमन्त्री राउतसहितको टोलीलाई गण्डकीका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले स्वागत गरेका थिए। भ्रमणको संयोजन नाट्टा गण्डकीले गरेको छ।
Shares
प्रतिक्रिया