नेकपा एकीकृत समाजवादी कास्की जिल्लामा कमजोर देखिएको छ।
एमालेबाट निर्वाचित कास्कीका २ सय ८२ जना जनप्रतिनिधिहरु मूल पार्टीमै रहने भएपछि एकीकृत समाजवादी कमजोर देखिएको हो।
शुक्रबार एमालेले आयोजना गरेको भेलामा सबै जनप्रतिनिधिहरुले एमालेमै रहने प्रतिवद्धता व्यक्त गरेको कास्की अध्यक्ष तथा प्रदेश सांसद कृष्णबहादुर थापाले जानकारी दिए।
कास्कीका पोखरा महानगर र ४ वटा गाउँपालिकाहरुमध्ये अधिकांशमा एमालेका जनप्रतिनिधिहरु रहेका छन्। कास्कीबाट प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ८ जना सभासद रहेका छन् ।
प्रतिनिधि सभाका सांसदहरु खगराज अधिकारी,जगत विश्वकर्मा तथा विद्या भट्टराई साविक एमालेमै छन्। पोखरा महानगरका १५२ जना जनप्रतिनिधि एमालेमै रहेको उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्। तीमध्ये ५१ जना महिला रहेका छन्।
पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति धनराज आचार्यको अध्यक्षतामा गठित १८५ सदस्यीय एमालेको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएपनि सो कमिटीमा यहाँका कुनै पनि जनप्रतिनिधिहरु रहेका छैनन्।
एकीकृत समाजवादीले पोखरा मुक्तिनाथ पौडेलको अध्यक्षतामा रहेको पोखरा नगर कमिटी पनि समाजवादीमै बदलिएको छ। माधव पक्षीय नेता सीता गिरीले अन्तिम समयमा साथ छाडेपछि एकीकृत समाजवादीमा यहाँ तुलबहादुर गुरुङ, चुडामणि जंगली, श्रीनाथ बराललगायतका नेताहरु मात्रै रहेका छन्।
उता, गण्डकी प्रदेश सभा सदस्य तथा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा पनि मूल पार्टीमै बसेका छन्।
Shares
प्रतिक्रिया