गण्डकीका मुख्यमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मन्त्री भएको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिताको अधीनमा रहँदै यहाँका ९ जना मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
दीपक मनाङेको नामबाट चिनिने खेलकुदमन्त्री राजीव गुरुङ र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाएका छैनन्।
मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्रीहरूमध्ये सबैभन्दा धनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका कानुनमन्त्री विन्दुकुमार थापा र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ देखिएका छन्।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुझाएको सम्पत्ति विवरणमा उनको काठमाडौंमा घडेरी भए पनि २५ लाख ५० हजार ऋण रहेको छ।
पाँच तोला सुन र पाँच लाख रुपैयाँ नगद सम्पत्ति भएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग तनहुँ, नवलपुरको गैंडाकोट तथा काठमाडौंमा जग्गा र घडेरी रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
काठमाडौंको साङ्लामा ऋण लिएर घडेरी किनेको र बाँकी पैत्रिक सम्पत्ति भएको उनको जिकिर छ।
उनले २०७६ सालमा कृषि विकास बैंकबाट २०७६ सालमा २५ लाख रुपैयाँ ऋण लिएको जनाएका छन् ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापासबैभन्दा धनी देखिएका छन्।
आफ्नो, दुई श्रीमती तथा छोराको नाममा उनीसँग पोखराका विभिन्न ठाउँमा घर मात्रै ६ वटा रहेका छन् भने करिब ७ करोड रुपैयाँ विभिन्न बैंकको खातामा छ।
घरमा भने उनले ५५ हजार मात्रै नगद भएको जनाएका छन् ।
आफ्ना २ जना श्रीमती मनलक्ष्मी थापा तथा राधा थापा क्षेत्रीको नाममा मात्रै पोखराका विभिन्न वडाहरूमा १५७ कित्ता जग्गा भएको उल्लेख गरिएको छ।
जग्गाहरू साना घडेरीदेखि ५० रोपनीभन्दा माथिका छन्। ती जग्गाहरू व्यवसाय तथा पैत्रिक सम्पत्तिमार्फत आर्जन भएको दाबी गरिएको छ।
पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट प्रालि, सिटी टे«ड मल, गण्डकी टे«ड हाउस, अंशुभरा स्क्वायर प्रालि, रोयल हिमालय रिसोर्ट प्रालिलगायतका होटल तथा बिजनेस हाउसले ओगटेको क्षेत्र उनले ऋणमा लिएको उल्लेख गरेका छन्।
उनीसँग महंगो मानिने जिजिओ र फोर्डका २ वटा निजी गाडी, मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंंकलगायतका बैंकको लाखौंको सेयर छ।
ती बैंकहरूमा छोरा सौगात थापा एवं दुई जना श्रीमतीको नाममा पनि सेयर रहेको छ।
उनले आफूसँग १५ तोला हीरा, ५० तोला सुन र त्यही परिमाणमा चाँदी भएको जनाएका छन्।
विभिन्न बैंकमा आफूले ३० करोड रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।
पोखरा–९, नयाँबजारका रैथाने मन्त्री थापा घरजग्गा व्यवसायी हुन्। उनी गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट सांसद भएका हुन्।
माओवादी केन्द्रबाट वन, वातावरण तथा भू–संरक्षणमन्त्री बनेका दीपक थापाको स्याङ्जाको विरुवा गाउँपालिका २ मा पैतृक सम्पत्तिबाट प्राप्त घर र पछि ५० हजार रुपैयाँमा किनेको जग्गा रहेको छ।
यसैगरी उनले सोही ठाउँमा तलब र आफन्तको सहयोगमा ८ रोपनी जग्गामा सुन्तला लगाएका छन्। तलबबाटै उनले पोखरा–१४, छिनडाँडामा ४० लाखको घडेरी किनेको उल्लेख गरेका छन्।
३० तोला सुन र २० तोला चाँदी पैतृक सम्पत्तिबाट प्राप्त भएको जिकिर गरेका उनीसँग विभिन्न बैंकमा ४० हजारजति नगद रहेको छ।
छोराले सञ्चालन गरेको नर्सरी तथा जग्गा खरिदका लागि उनले ६१ लाख ५० हजार रुपैयाँ ऋण लिएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीसँग लमजुङको दूधपोखरी गाउँपालिका–४ मा १ लाख ५३ हजार वर्गमिटर क्षेत्रफलमा घर रहेको छ भने चितवनको कविलासमा २ वटा घडेरी तथा मकवानपुरमा पनि अर्को घडेरी छ । ्
उनले ३ तोला सुन र एउटा स्कुटर मात्रै भएको जानकारी पेश गरेकी छन्। उनी माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै मन्त्री भएकी हुन्।
शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग स्याङ्जाको भीरकोट नगरपालिका तथा काठमाडौंको नागार्जुनमा पक्की घर छ भने आफ्नो र श्रीमतीको नाममा काठमाडौंका विभिन्न ४ ठाउँ र स्याङजाको भीरकोट र पोखराको छिनेडाँडामा विभिन्न कित्ता नम्बरका जग्गा रहेको छ।
ती जग्गाहरू पैतृक तथा व्यापारबाट आर्जेको उनको जिकिर छ।
उनीसँग सुन मात्रै १ किलोग्राम १५ तोला तथा चाँदी ७ किलो २ तोला एवं नगद १५ लाख रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
विभिन्न बैंक तथा वित्तीय संस्थामा आफू,श्रीमती तथा छोराछोरीको नाममा उनीसँग ५ करोडदेखि सानो रकमसम्म नगद मौज्दात छ भने र्बैंक र वित्तीय संस्थाको सेयरदेखि गाडी तथा स्कुटरलाई पनि उनले सम्पत्तिमै देखाएका छन्।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल पनि सम्पत्तिको मामिलामा धनी नै देखिएका छन्। बागलुङको काठेखोला गाउँपालिका–८,लेखानी पुर्ख्यौली घर भएका उनीसँग त्यहाँ मात्रै ५० रोपनीभन्दा बढी जग्गा छ भने बागलुङ बजारमा घर, चितवनको कुमरोज एवं रुपन्देहीको पडसरीमा विभिन्न कित्ताका जग्गा छन्।
जग्गाको केही ऋण तिर्न बाँकी रहेको बताएका उनीसँग २५ तोला सुन, एक किलोग्राम चाँदी एवं विभिन्न बैंकको खातामा करिब ८ लाख नगद एवं ७ लाख २१ हजार कित्ता सेयर रहेको छ।
उनी कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।
उmर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यको गोरखाको पालुङटारमा ३ कित्ता पैतृक जग्गा, ८ तोला सुन, ५ तोला चाँदी, विभिन्न बैंकमा ५० हजार वचत रहेको छ भने आमूल फर्निचर उद्योगको नाममा २० लाख लगानी भएको छ।
उनले कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएकोमा १० लाख तिरेको बताएका छन्। उनी जनता समाजवादीबाट सांसद बनेका हुन्।
माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री रामजीप्रसाद बरालसँग पोखरा–२२, पुम्दीमा पैतृक सम्पत्तिबाट प्राप्त जग्गासहित पोखराको औद्योगिक क्षेत्रमा ४७ लाखमा किनेको घडेरी छ।
उनले सो घडेरी जेठो छोराले वैदेशिक रोजगारबाट कमाएको पैसाबाट किनेको बताएका छन्। उता, उनीसँग ३ लाख नगद र ३ तोला सुन पनि रहेको छ।
सय कित्ता सेयर रहेको उनीसँग ऋण पनि १ करोड जति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
पोखरा–१६ का रैथाने भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कासँग सोही वडामा पक्की घर छ भने श्रीमती कमला खड्काको नाममा पोखरा–३३ मा पनि जग्गा रहेको छ।
उनीसँग ९५ तोला सुन, विभिन्न बैंकमा १ करोड ३३ लाख नगद, झण्डै ५७ लाख बराबरको सेयर पनि रहेको छ।
सम्पत्तिको स्रोतमा उनले स्वआर्जन उल्लेख गरेका छन् । उनी सदनमा कांग्रेसको प्रतिनिधित्व गर्छन्।
Shares
प्रतिक्रिया