नेपाली कांग्रेसका नेता गगनकुमार थापाले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीलाई ठीक भनेका छन्।
बुधबार चितनवका पत्रकारहरुसँगको कुराकानीमा उनले भूमि आयोग खारेज गरेर सरकारले सकारात्मक कदम चालेको बताएका हुन्।
थापाले अघिल्लो सरकारले संसदमा छलफल नगरी उक्त आयोग गठन गरेको पनि बताए। 'भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सकारात्मक कदम हो', उनले भने, 'सुकुम्बासी समस्या समाधानका लागि सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ।'
थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने पनि उनले बताए।
'नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो', उनले भने, 'त्यो तागत फेरि दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ। दार्चुलामा भारतीय सुरक्षा बलले तुइन काट्दा नेपाली युवक जयसिंह धामी साउन १५ गतेदेखि हालसम्म बेपत्ता छन्।
अर्को प्रसंगमा नेता थापाले कांग्रेसको महाधिवेशन संविधान र कानुनले दिएको समय र सीमाभित्र रहेर गर्नुपर्ने जोड दिए। उनले पार्टीभित्रको विवाद नसुल्झिए पुनः केन्द्रीय समितिमा ल्याउनुपर्ने आवश्यकता औल्याए।
थापाले विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक नबोलाएर समय घर्किएपछि महाधिवेशन हुन सकेन भन्न नपाइने उल्लेख गरे। पार्टी सभापति र पदाधिकारीले महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
Shares
प्रतिक्रिया