गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मन्त्री टुंगो लगाएको छ।
कांग्रेसले थप तीन जना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको हो। मणिभद्र शर्मा (बागलुङ), मेखलाल श्रेष्ठ (स्याङ्जा) र विन्दुकुमार श्रेष्ठ (कास्की) लाई मन्त्री बनाउने निर्णय गरेको कांग्रेसले जनाएको छ।
यसअघि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसँगै कुमार खड्का मन्त्री नियुक्त भएका थिए।
स्रोतका अनुसार विन्दुकुमार श्रेष्ठ कानुन, मेखलाल श्रेष्ठ सामाजिक विकास, मणिभद्र शर्मा पर्यटन र कुमार खडका भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । खड्का यसअघि सामाजिक विकासमन्त्री थिए। नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिने कार्यक्रम छ।
शर्मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट हुन् भने मेखलाल गोपालमान श्रेष्ठ र विन्दुकुमार महामन्त्री शशांक कोईराला निकट हुन्। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट तनहुँका दोबाटे विश्वकर्मालाई मन्त्री बनाउने भनिए पनि अन्तिम समयमा आएर ब्यापारी पृष्ठभूमिका विन्दुकुमार श्रेष्ठलाई बनाइएको हो।
मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म पनि कृष्णचन्द्र पोखरेलले सरकार विस्तार गर्न सकेका थिएनन्। सत्तारुढ दलहरुबीच भागबण्डा नमिल्दा र दलभित्रै आकांक्षी बढी हुँदा सरकार विस्तार ढिलाइ भएको हो।
सत्तासाझेदार माओवादी केन्द्रले हिजो (बिहीबार) मात्रै मन्त्री टुंग्याएको थियो।
यो पनिः माओवादीले गण्डकीका मन्त्री टुंग्यायो, कांग्रेस अझै अलमलमा
Shares
प्रतिक्रिया