गण्डकी प्रदेशको स्थगित बर्खे अधिवेशन आइबारदेखि सुचारु हुने भएको छ।
सभामुख नेत्रनाथ अधिकारीले स्थगित बजेट अधिवेशन आइतबार बिहान ११ बजेबाट सुचारु हुने जानकारी दिएका हुन्। सरकारले सदन बोलाउन संसद सचिवालयलाई पत्र पठाएसँगै अधिवेशन सुचारु गर्न लागिएको सभामुख अधिकारीले बताए।
सरकारका प्रवक्ता सामाजिक विकासमन्त्री कुमार खड्काले हतारमा बजेट ल्याएको नयाँ सरकारले बजेट विनियोजनको काम सकेकाले सदन डाक्न सभामुखसमक्ष आग्रह गरिएको बताए ।
‘रातो किताब तयार भएको छ, बजेटबारे छलफल गर्नको लागि सदन डाक्न पत्राचार गरेका छौँ’,उनले भने,‘ सदनमा अब बजेटबारे छलफल हुन्छ।’
यसअघि सरकारले पत्रकार सम्मेलनमै असार २५ गते सदन बोलाउने घोषणा गरेको थियो। तर, प्रवक्ता खड्काले सदन सञ्चालन गर्ने पोखरा सभागृहमा पानी चुहिएको र मर्मत गर्नुपर्ने भएकोले २ दिन पछि धकेलिएको जिकिर गरे।
कोभिड संक्रमणपछि नदीपुरमा रहेको गण्डकी प्रदेश सभा हलमा नभएर नयाँ सडकको पोखरा सभागृहमा सदन सञ्चालन गरिँदै आएको छ। पोखरा महानगरको स्वामित्वमा रहेको पोखरा सभागृह पुरानो भएको छ। हरेक वर्ष ममर्त गरे पनि त्यहाँ पानी चुहिन छाडेको छैन।
असारभित्र बजेट सदनबाट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। असार १ गते आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याएको गण्डकीको नयाँ सरकारले असार ४ गते विश्वासको मत पाएसँगै सदन स्थगित भएको थियो।
समीकरणको कचिँगलोमा फसेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले हाल कांग्रेसका कुमार खड्कालाई सामाजिक विकास र माओवादी केन्द्रकी मधुमाया अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् भने स्वतन्त्र दीपक मनाङे र जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई विनाविभागीय मन्त्रीकै रुपमा राखिरहेका छन्।
जेठ २९ गते नयाँ सरकार बन्दा माओवादी केन्द्र र कांग्रेसले ४–४ तथा जनता समाजवादीलाई २ एवं दीपक मनाङलेलाई एउटा मन्त्री दिने सहमति गरेका थिए। मन्त्रालय बाँडफाँडमा कुरा मिलेपनि कुन मन्त्रालय कसले लिने भन्नेमा सत्ता गठबन्धनभित्र किचलो छ। बजेट पारित भएपछि मात्रै सरकार बिस्तार गरिने मुख्यमन्त्री नेपालीले बताएका छन्।
यता, नयाँ सरकार हतारमा बनेको र असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण तयारी नपुगेकाले रातो किताब तयार पार्न ढिला भएको सरकारको दावी छ। रातो किताब तयार नभएकैले सदन लामो समय स्थगित भएको प्रवक्ता खड्काले बताए। विपक्षी एमालेले भने कार्यकर्ता पोस्ने बजेट ल्याउन र यसअघिका क्रमागत योजनाहरु तलमाथि गर्न सत्तापक्षले अधिवेशन नबोलाएको आरोप लगाएको छ।
‘बजेटबारे दफावार छलफल गर्न डराएर सरकारले सदन बोलाउन ढिला गरेको हो’, एमाले सचेतक मायानाथ अधिकारीले भने,‘ रातो किताब तयार नै नगरि भाषणको रुपमा बजेट पढेर सरकारले सदनको मर्यादामाथि हस्तक्षेप गरेको छ।’
Shares
प्रतिक्रिया