सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने संक्रान्तिका रूपमा मनाइँदैछ।
माघ १ गतेदेखि उत्तरतर्फ हिँड्ने सूर्य साउनदेखि दक्षिणतर्फ हिँड्ने हुँदा यो समयलाई दक्षिणायन पनि भनिन्छ। हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताको रात र पितृको दिन हुने हुँदा साउन महिनादेखि पितृकार्यको थालनी पनि गरिन्छ। हरियो चाँडका रुपमा मनाइने यो महिना हरेक सोमबार भगवान् शिवको आरधाना गरी मनाइन्छ।
साउनमा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। पार्वतीले साउन महिनाभर शिवजीलाई पतिका रूपमा पाऊँ भनी कठोर तपस्या गरेको किंवन्दी अनुसार आफू, श्रीमान, सन्तान एवं परिवारका सदस्यको कल्याण हुने विश्वासका साथ महिलाहरू यो दिन व्रत बस्छन्।
साउने सोमबारका दिन देशभर शिव मन्दिरहरूमा तीर्थालीको भिड लाग्ने गर्छ। श्रद्धालुहरू प्रमुख गन्तव्यका रुपमा आज पशुपतिनाथमा पुगेर शिवको आरधना गर्छन्। पशुपतिबाहेक ललितपुरको कुम्भेश्वर सन्तानेश्वर महादेव, हेटौँडाको लट्टेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्डलगायतका मन्दिरमा भिड लाग्ने गरेको छ।
पशुपतिमा सोमबार बिहानै पुगेर श्रद्धालुहरूले पूजा गरी साउने पहिलो सोमबार मनाएका छन्।
Shares
प्रतिक्रिया