नेपाली कांग्रेसको यो पटकको महाधिवेशनमा देखिएको सबैभन्दा रोचक दृश्य हो मतपेटिकाका रुपमा पानीट्यांकीको प्रयोग।
एमाले र राप्रपाले विद्युतीय मतदान गरिरहँदा देशको सबैभन्दा पुरानो पार्टीले पुरानै र रुढीवादी परम्परालाई तोड्न सकेन।
त्यहीकारण विद्युतीय मेसिनको मतदानमा अविश्वास गरेको कांग्रेसले कागजमै मत खसाल्यो।
त्यसका लागि कांग्रेसले विभिन्न २९ वटा मतपत्र बनाएको थियो। एकदमै लामा ती मतपत्र खसाल्ने व्यवस्थाका लागि कांग्रेसले पानी ट्यांकी नै किन्यो।
तिनै पानी ट्यांकीका बिर्को काटेर कांग्रेसले मतपेटिका बनायो। सोमबार बिहान ११ बजेर २३ मिनेटदेखि सुरु कांग्रेसको मतदान तिनै मतपेटिका भर्दै राति साढे ११ बजे सकिएको छ।
अहिले मतले भरिएकामध्ये सभापतिका मतपेटिका खोलिँदैछ। सबैभन्दा पहिले सभापतिको मत गनिसकेर अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गन्न थाल्ने योजना कांग्रेसको छ।
Shares
प्रतिक्रिया