रुसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा ठिकअघि भ्लादिमिर पुटिनले चिनियाँ समकक्षी सी चिनफिङलाई बेइजिङमा भेटे। भेटलगत्तै दुई मुलुकले ‘असीमित’ साझेदारीको घोषणा गरे।
चीन–रुस साझेदारी साँच्चिकै असीमित छ कि छैन, आउँदा दिनमा स्पष्ट हुँदै जानेछ। खासगरी हालै रुसले चीनसँग सैन्य सहयोग माग गरेपछिको अवस्थामा। यदि सीले सैन्य सहयोग उपलब्ध गराए भने चीन अमेरिका र नेटो मुलुकविरुद्ध छद्म युद्धमा प्रवेश गर्नेछ। किनभने यी मुलुकले युक्रेनलाई सघाइरहेका छन्। सी चिनफिङको सोही निर्णयले विश्वव्यापी आर्थिक व्यवस्थाको पनि अन्त्य गर्न सक्नेछ। जुन व्यवस्थाले गत ४० वर्षमा चीनको असाधारण उदयलाई सम्भव तुल्याएको थियो।
अमेरिकाको विश्वव्यापी शक्तिसँग रुस र चीन दुवैको गहिरो शत्रुता छ। तर, यी दुई मुलुकले एकअर्काभन्दा एकदमै फरक तरिकाले अमेरिकासँगको प्रतिद्वन्द्वितालाई अघि बढाएका छन्। चीनको आर्थिक शक्ति निकै बलियो छ। त्यो शक्तिले विश्वको शक्तिसन्तुलन बदल्न सक्छ भन्ने भरोसा गरेर चीन ‘दीर्घकालीन खेल’ खेल्न सक्छ। तर, रुसको आर्थिक अवस्था कमजोर छ। त्यसैले उसले क्रुर शक्तिका भरमा युक्रेनमा जुवा खेलेको छ।
पुटिनको यो चालले चीनको दीर्घकालीन खेललाई खतरामा पारेको छ। चिनियाँ नीति निर्माताहरुले सायद अमेरिकासँगको सम्बन्ध अन्ततः टुट्ने नै परिकल्पना गरेका थिए होलान्। तर, रुसका कारण उनीहरुले सोचेको भन्दा निकै चाँडो अहिले नै पश्चिमसँग टक्करको सामना गर्नुपर्ने स्थिति आइपरेको छ।
पश्चिमा आर्थिक प्रतिबन्ध छल्न चीनले रुसलाई सघायो भने बेइजिङमाथि पनि घुमाउरो प्रतिबन्ध लाग्ने सम्भावना छ। यही कुरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले चिनियाँ कूटनीतिज्ञ याङ चिचीसँग भेट्दा स्पष्ट पार्नेछन्। रुसी सेनालाई चीनले हतियार आपूर्ति गर्यो भने चीनमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने, चिनियाँ सामान बहिष्कार गर्नुपर्ने र विदेशी कम्पनी फिर्ता गर्ने आवाज उठ्नेछ।
युक्रेनमा रुस छोटो युद्धमै विजयी भएको भए चीनलाई अनुकूल हुने थियो। अमेरिकी शक्तिको असाध्य पतन हुँदैछ भन्ने चिनियाँ भाष्य अझ बढी विश्वसनीय लाग्ने थियो। र, ताइवानमाथि चिनियाँ आक्रमणका लागि मञ्च तयार हुने थियो।
तर, रुस फस्न पुग्यो। अहिले पश्चिमा गठबन्धन ब्युँतिएको छ। अमेरिका र उसका सहयोगी मुलुकहरुले आर्थिक प्रतिबन्धको नयाँ हतियार सार्वजनिक गरेका छन्। जुन बेइजिङबाट हेर्दा खतरनाक देखिन्छ।
पश्चिमा प्रतिबन्धका कारण रुसले आफ्नो सबैजसो विदेशी मुद्रा सञ्चिती गुमाएको खबर चीनले यतिखेर सुन्नु परेको छ। अर्थशास्त्री ब्यारी आइकनग्रिनले भनेझैँ मुलुकहरुले विदेशी मुद्रा सञ्चित गर्ने एउटा प्रमुख कारण हो– ‘भूराजनीतिक द्वन्द्वका बेला खर्च गर्न पाइन्छ’ भन्ने आशा। तर, विश्वको सबैभन्दा ठूलो विदेशी मुद्रा सञ्चिती भएको चीनले अहिले थाहा पाएको छ– युद्धका लागि भनेर साँचिएको त्यो खर्च एकै रातमा गुम्न सक्छ।
उर्जा वा खाद्यान्नमा चीन आत्मनिर्भर छैन। दशकौँदेखि अमेरिकी सेनाले प्रमुख समुद्री मार्ग छेकेर नाकाबन्दी लगाइदेला भन्ने चिन्तामा चीन रहँदै आएको छ। केही हदसम्म त्यही नाकाबन्दीको सम्भावनालाई टार्न भनेरै चीनले आफ्नो नौसेनामा ठूलो लगानी गरेको छ। तर, अहिले चीनले विदेशी मुद्रा सञ्चितीमा पहुँच गुम्ने सम्भावनाको सामना गर्नुपरेको छ। जुन अन्य आर्थिक प्रतिबन्धसँग जोडिँदा समुद्री नाकाबन्दीजत्तिकै खतरनाक बन्न सक्छ।
चीनका लागि यसबाट बाहिरिने सजिलो बाटो छैन। यसको समाधान भनेकै आफ्नै मुद्रामा व्यापार गर्नु हो। तर, पुँजी बाहिरिने डरले चीनले आरएमबीलाई पुरै विनिमययोग्य बनाएको छैन।
युरोपेली संघ, बेलायत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान र सिंगापुर रुसविरुद्ध आर्थिक प्रतिबन्धमा उत्रिएका छन्। यसले विकसित मुलुकहरुको एकीकृत मोर्चा तयार गरेको छ। जसले बेइजिङलाई झस्काउन सक्छ। चीनले आफ्नो शक्तिको मापन गर्न हरेक उपलब्धिसँगै आफूलाई बारम्बार अमेरिकासँग तुलना गर्ने गरेको छ। अमेरिकालाई उछिनेर ऊ सबैभन्दा ठूलो व्यापारिक शक्ति, क्रयशक्तिका आधारमा सबैभन्दा ठूलो अर्थतन्त्र, सबैभन्दा ठूलो नौसेना बनेको छ। तर, यतिबेला चीनले आफूलाई अमेरिकासँग मात्र होइन, युरोपेली संघ, बेलायत, जापान, क्यानडा र अस्ट्रेलियासँग पनि तुलना गर्ने हो भने ऊ निकै कम शक्तिशाली देखिनेछ।
रुसलाई प्रतिबन्ध लगाउनुभन्दा चीनलाई आर्थिक रुपले एक्ल्याउन निकै कठिन हुने स्पष्ट छ। चीन पश्चिमा आपूर्ति सञ्जालमा गहिरोसँग एकीकृत भएको छ। थुप्रै पश्चिमा बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो व्यापारिक रणनीतिको केन्द्रमा चीनलाई राखेका छन्।
त्यही कारणले चीनविरुद्ध उग्र कुरा गर्ने केही अमेरिकीहरुले समेत अमेरिका र चीनबीचको आर्थिक अन्तरनिर्भरतालाई स्वीकारेका छन्। तर, विश्वव्यापी संकटले मानिसहरुलाई आफ्ना आधारभूत धारणामाथि पुनर्विचार गर्न बाध्य बनाउँछ। चीनसँग पश्चिमको आर्थिक सम्बन्धविच्छेद कुनै समय सोच्न पनि नसकिने कुरा थियो। अहिले यो सम्भव देखिन थालेको छ। विश्वव्यापीकरण भयंकर गल्ती थियो भन्ने पश्चिमा आर्थिक राष्ट्रवादीहरुलाई चीनसँगको आर्थिक सम्बन्धविच्छेदको कुराले आकर्षित गर्न सक्छ।
चीनको सैन्य हिसाबकिताब पनि अचानक निकै जटिल देखिन थालेको छ। अनुभवी रुसी सेनाले जमिनबाट युक्रेनमा आक्रमण गर्दा त सजिलै विजय हात पार्न सकेन भने चीनले निकै जटिल मानिने समुद्री आक्रमणबाट ताइवानलाई कसरी जित्ला? युक्रेनको अनुभवलाई हेर्दा ताइवानीहरुले पनि बलियो प्रतिरोध गर्नेछन्। जसका कारण चीनले ठूलो क्षति बेहोर्नुपर्ने हुनसक्छ। किनभने पश्चिमा मुलुकले ताइवानमा सैन्य सामग्री थुपारिरहेका छन्। अर्कोतिर, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि युद्धमा नजाने घोषणा बारम्बार गर्दै आएका छन्। तर, उनले ताइवानको रक्षा गर्ने बताएका छन्।
रुससँगको ‘असीमित’ साझेदारीमा चीन वरिष्ठ साझेदार हुनेछ भन्ने अनुमान गरिएको थियो। तर, पुटिनसँग मिल्ने सीको निर्णय यतिबेला आएर गलत देखिन थालेको छ। तपाईंले लापरबाह जुवाडेलाई साथी बनाउनुभयो भने दीर्घकालीन खेल खेल्न कठिन हुने गर्छ।
(फाइनान्सियल टाइम्सबाट)
Shares
प्रतिक्रिया