ad ad

छापा खबर


सिनो हाइड्रोले १५ महिनाभित्र मेलम्चीको काम सक्ने

सिनो हाइड्रोले १५ महिनाभित्र मेलम्चीको काम सक्ने

नेपालखबर
असोज १२, २०७६ आइतबार २३:४०,

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम १५ महिनाभित्र सक्ने गरी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ।

खानेपानी तथा सरसफाइ मन्त्रालय र कम्पनीबीच आइतबार यससम्बन्धी सम्झौता भएसँगै करिब ९ महिनादेखि ठप्प रहेको राष्ट्रिय गौरवको आयोजनाले गति लिन लागेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीका अनुसार तोकिएको समयभित्रै काम सकिने गरी सम्झौता भएको छ। ‘कानुनी रूपमा सिनोलाई काम अघि बढाउन अनुमति दिइएको हो,’ उनले भने, ‘अब सम्झौता भएको मितिदेखि १५ महिनाभित्र सिनोले काम सम्पन्न गर्नुपर्नेछ।’

सुरुङ १२ महिना र हेडवर्क्स १५ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने खत्रीले बताए। उनका अनुसार पहिलो चरणमा सुरुङ निर्माणको सम्झौता भएकोमा हेर्डवर्क्सको सम्झौता पनि केही दिनमै भइहाल्छ। ‘अब काम सुरु भयो भन्दा हुन्छ,’ खत्रीले भने।

तत्कालीन ठेकेदार कम्पनी सीएससीले गत पुसमा ठेक्का सम्झौता तोडेपछि आयोजनाको काम ठप्प भएको थियो। त्यसपछि सरकारले फास्ट ट्र्याकबाट काम गर्ने निर्णय लिएको हो।

आठवटा ठेक्का सिधै स्थानीय ‘भेन्डर’लाई दिई सुरुङ र हेडवर्क्स निर्माणका लागि ठेक्का आह्वान गरिएकोमा हिमाल हाइड्रो र सिनो हाइड्रोबीच प्रतिस्पर्धा भएको थियो। सिनोले ८५ करोड १ लाख लागतमा सुरुङ र १ अर्ब २ करोड ८२ लाख रुपैयाँमा हेडवर्क्स बनाउने भएको हो।

२६ किमि सुरुङ खनिसकिए पनि त्यसमा आरसीसी ढलानको काम सकिएको छैन । ‘२६ मध्ये जम्मा ५ किलोमिटर सुरुङमा आरसीसी ढलान भएको छ, पूरै सुरुङमा नटबोल्ट हाल्ने र भेन्ट सफ्ट कार्य पनि बाँकी छ,’ खत्रीले भने।

सिनोले तोकिएभन्दा अगाडि काम सके बाँकी रहेको अवधिको प्रतिदिनका हिसाबले १० प्रतिशत बोनस दिइने उनले जानकारी दिए। यसो हुँदा कम्पनीले सुरुङतर्फ प्रतिदिन १२ लाख ७५ हजार र हेडवर्क्सतर्फ प्रतिदिन १५ लाख रुपैयाँ बोनस पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .