ad ad

छापा खबर


कहिलेसम्म रहन्छ नागढुंगा-नौबिसे सडकमा ज्यानमारा जाम?

कहिलेसम्म रहन्छ नागढुंगा-नौबिसे सडकमा ज्यानमारा जाम?

नेपालखबर
असोज ११, २०७६ शनिबार ०:५८,

चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन्।

काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडकखण्डमा घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन्।

नागढुंगा–नौबिसे सडकखण्डमा लामो जामका कारण समयमै अस्पताल पु¥याउन नसक्दा शुक्रबार रौतहट गौर नगरपालिका–७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको छ।

सडक बिग्रिएर दयनीय बनेको छ भने सडकभरि ठूला खाल्टाखुल्टी परेका छन् । निरन्तरको वर्षाका कारण सडक मर्मत हुन नसक्दा पनि जाम बढेर गएको हो।

एक सातादेखि नागढुंगा–नौबिसे तथा कोटेश्वर–जडिबुटी सडक खण्डमा घण्टौं जाम हुँदा हजारौं यात्रु समस्यामा पर्दै आएका छन् । सडक विभागका प्रवक्ता शिवहरि सापकोटा देशैभरको सडक मर्मत गर्ने तयारीमा रहे पनि मौसमका कारण प्रभावित भएको बताउँछन्।

उपत्यकाबाट बाहिरिने नाकामा बाहिरिन सामान्य समस्याजस्तै देखिए पनि भित्रिने सवारी साधन भने घण्टौं जाममा पर्दै आएका छन् । नागढुंगा–नौबिसे सडकखण्डमा ठूलाठूला मालवाहक सवारी भित्रिने र बाहिरिने हुँदा पनि जाम बढेको हो।

काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी हुने हुँदा सडक पनि छिटोछिटो भत्किने र खाल्टाखुल्टी पर्ने गरेको छ।

नौबिसेबाट काठमाडौं आउन १० घण्टा
नौबिसेदेखि नागढुंगातर्फ ६ किलोमिटर सडक क्षेत्र रहे पनि हाल १० घण्टासम्म जाममा फस्नुपरेको यात्रुहरूले गुनासो गरेका छन्।

त्यस क्षेत्रमा अहिले चाडपर्वलाई लक्षित गरेर पिच गर्ने काम भइरहेको छ । त्यसले पनि जाम थपिन पुगेको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

गत असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम बल्ल सुरु गरिएको छ।

मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेको हो । मर्मतका कारण सो सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ।

दसैंअघि उपभोग्य सामग्री राजधानी भित्रिने बेलामा हुन लागेको मर्मतले यात्रुलाई थप सास्ती भएको छ।

दसैं–तिहार नजिकिँदा राजधानी छिर्ने र बाहिरिने सवारी साधनको चाप यसै पनि बढ्छ । काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन।

अत्यधिक सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ । हरेक वर्ष चाडपर्व लक्षित गर्दै हतारमा टालटुल गरिँदै आएको छ । मापदण्डविपरीत भार बोकेका साधनहरूले सडकमा साना सवारी गुडाउन असहज हुनेगरी भत्किने गरेको छ।

अत्यधिक वर्षाका कारण असार महिनामा काम गर्न नसकिएको र वर्षा नभए बिहीबारसम्म मर्मत सकिने निर्माण कम्पनीका सञ्चालक गणेश पाण्डेले दाबी गरे।

खाल्टाखुल्टी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ।

दसैं–तिहारमा दैनिक १८ हजारसम्म सवारी र मालवाहक गाडी राजधानी भित्रिने र बाहिरिने गरेका छन् । तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका ठूला मालवाहक गाडी हुन्छन्।

सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै १२ देखि १८ असोजसम्म काठमाडौं भित्रिने ठूला मालवाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .