ad ad

छापा खबर


नेकपाले नेता-कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ पढाउने!

नेकपाले नेता-कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ पढाउने!

नेपालखबर
असोज २, २०७६ बिहिबार २:२८,

नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ।

असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए ।

सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन् । सोङ शनिबार नेपाल आउँदै छन् ।

त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरूको वैचारिक राजनीतिक कार्यपत्र प्रस्तुत हुने नेकपा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए । पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन पेस हुनेछन् ।

पौडेलले सम्मेलनको एउटा कुनै सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिए । ‘राष्ट्रपतिज्यूको उपस्थितिबारे पनि हामीले छलफल गरेका छौं, उहाँ आउने नआउने टुंगो लागिसकेको छैन,’ उनले भने।

सम्मेलनमा पार्टीका दुई अध्यक्षसहित केन्द्रीय तहका २ सय जनासम्म नेतालाई सहभागी गराउने तयारी स्कुल विभागको छ । सम्मेलनमा प्रस्तुत हुने विषयवस्तु र सहभागिताबारे छलफल गर्न बुधबार विभाग प्रमुख पोखरेल तथा उपप्रमुखहरू बेदुराम भुसाल र पौडेलबीच छलफल भएको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएपछि बनेको स्कुल विभागको पहिलो कक्षामै चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक र सैद्धान्तिक कार्यदिशाबारे छलफल हुन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टी धेरै अनुशासित हुने भएकाले त्यसको कार्यशैली यहाँ पनि उपयोगी हुने ठानेर सी चिनफिङ पथबारे प्रशिक्षण हुन लागेको नेताहरूले बताए ।

दुई वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले नयाँ युगका लागि चिनियाँ समाजवाद भनेर सीको विचारधारालाई पारित गरेको थियो ।

राष्ट्रपति सीको सिद्धान्तले चीनमा मार्क्सवादको विकासक्रम, गरिबी निवारण र भ्रष्टाचार उन्मूलन, चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय पहुँच र तल्लो तहसम्म आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने कुराको व्याख्या गरेको छ ।

पार्टी विधानमै राजनीतिक विचारधारा र नाम उल्लेख गराउन सफल भएपछि सीलाई चीनका गणतन्त्रवादी नेताहरू माओत्सेतुङ र देङ सियाओ पिङको हाराहारीका नेताका रूपमा चित्रण गरिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .