ad ad

छापा खबर


विपन्नता र अपांगताबीच मुसहर बस्तीमा निःशुल्क पढाउँदै एक युवा

विपन्नता र अपांगताबीच मुसहर बस्तीमा निःशुल्क पढाउँदै एक युवा

नेपालखबर
चैत १४, २०७७ शनिबार २३:४७,

 आफैँ सुकुम्बासी परिवारका सदस्य हुन्, तर विपन्नलाई सहयोग गर्न उनी अघि सरेका छन् । आफैँ ह्विलचेयरमा हिँडडुल गर्नुपर्ने बाध्यता छ, तर समाजलाई जागृत र शिक्षित बनाउने उनको यात्रा निरन्तर छ।

आफैँ कठिन जीवन सामना गरिरहेका विराटनगर– १६ रानीनिवासी ४० वर्षीय राजु क्षेत्री सीमा क्षेत्रमा बसोवास गर्ने भूमिहीन मुसहर समुदायका बालबालिकालाई पढाइरहेका छन् । ह्विलचेयरको भरमा उनी हरेक दिन तीन किलोमिटर यात्रा गरेर मुसहरबस्ती पुग्छन् जहाँ करिब ५० बालबालिका जम्मा हुन्छन्।

पढ्ने उमेरका यी बालबालिकाका लागि सरकारको दायित्व के हो? थाहा छैन । तर, राजुले उनीहरूलाई निःशुल्क, तर नियमित पढाउँदै आएका खबर आजको नयाँ पत्रिका दैनिकमा विराटनगरबाट गणेश लम्सालले लेखेका छन्।

मुसहर समुदायका बालबालिकालाई पढाउने मात्र होइन, पैसा जुटाएर कापी–कलम किनिदिने र वेलावेला खाजा र चकलेटसमेत वितरण गर्छन् राजु । उनको स्नेहले बालबालिकालाई आकर्षित गरिरहेको छ । छोराछोरीले पढ्न थालेपछि मुसहरबस्तीका अभिभावक पनि दंग छन्।

‘नजिक स्कुल छैन, टाढा पठाउन हामीसँग पैसा छैन । त्यसैले केटाकेटी दिनभर खेलेर बस्थे । तर, राजुसर आएर निःशुल्क पढाउन थालेपछि हाम्रा केटाकेटी धेरै सुध्रिएका छन्,’ स्थानीय जलसीदेवी ऋषिदेव भन्छिन्।

राजुका बुबा कृष्णबहादुर बोगटी पहिले विराटनगर जुटमिलमा मजदुरी गर्थे । तर, मिल बन्द भएपछि उनी बेरोजगार छन् । दुवै छोरीको बिहे भइसकेको छ । दुवै खुट्टा अपांगता भएका राजुले नै कमाएर आमाबाबु पाल्दै आएका छन्।

विराटनगर– १६ रानीमा प्रहरी तालिम केन्द्रपछाडिको सुकुम्बासी बस्तीमा उनीहरूको सानो घर छ । राजु विराटनगर आँखा अस्पतालमा चस्मा विभागमा काम गर्छन् । पारिश्रमिक छ– मासिक १४ हजार । त्यही कमाइले उनीहरूको घरबार दुःखले चल्छ।

राजु पहिले सपांग थिए । खेल्थे, कुद्थे र पढ्न जान्थे । कक्षा ५ मा पढ्दा एक दिन साइकल पल्टिँदा उनी नालामा लडे । त्यसपछि उनको खुटा फुल्न थाल्यो । वैद्यले दुई महिना राखेर तेलमालिस गरे, तर निको भएन । बरु समस्या झन् बढ्यो । बाबुआमाले ऋण खोजेर उनलाई उपचारका लागि काठमाडौं टिचिङ अस्पताल पु¥याए।

डाक्टरहरूले नसामा चोट लागेकाले निको हुन नसक्ने जानकारी गराए । ‘ढाडको नसामा चोट लागेकाले दुवै खुट्टा सुक्दै गए । जिउ पनि खुम्चँदै र सुक्दै गएको छ,’ बाबु कृष्णबहादुर भन्छन्।

राजुले भने हरेश खाएनन् । उनी निरन्तर ह्विलचेयरमा बसेर विद्यालय गए । एसएलसी पास गरे । त्यसपछि विराटनगरस्थित मोरङ क्याम्पसमा भर्ना भए । आइएड पास गरे र बिएको पहिलो र दोस्रो वर्ष उत्तीर्ण गरे । तर, आर्थिक प्रतिकूलताले तेस्रो वर्षको परीक्षा दिन पाएनन् । उनको पढाइ अधुरै रह्योे ।

विपन्नता र अपांगतालाई चुनौती दिएर उनी समाजसेवामा अघि बढे । एउटा निर्वाचनमा उनले नेताहरूसँग भोट माग्दै हिँड्ने अवसर पाए । त्यही क्रममा उनी बर्खामा सधैँ डुबानमा पर्ने सीमाक्षेत्रका मुसहरबस्ती पनि पुगे जहाँ बालबालिकाका लागि विद्यालय थिएन।

नेताजीले विद्यालय, शिक्षक सारा व्यवस्था गर्ने भनेर आश्वासन दिएका थिए । नेताले भाषण बिर्सिए, तर राजुले सम्झिएका थिए । त्यसैले उनी बालबालिका पढाउन आफैँ अघि सरे ।

विद्यालय भवन थिएन, त्यसैले खुला चौरमा बालबालिका जम्मा गरेर पढाउन थाले । भुइँमा बस निःशुल्क पढाइदिन्छु भन्दा ५० घरपरिवार भएको मुसहरबस्ती नै खुसी भयो । उनीहरूले आफ्ना छोराछोरीलाई बोरा दिएर विद्यालय पठाउन थाले । त्यही बोरामा बसेर विद्यार्थीले राजुसरसँग पढ्न थाले।

राजुको निःस्वार्थ शिक्षा सेवाबारे मानिसहरूले थाहा पाउन थाले । लायन्स क्लब पाथीभराले विद्यार्थीका लागि एककोठे भवन बनाइदियो । भवन बनेपछि खुला आकाशमुनि चिसो भुइँमा बसेर पढ्दै आएका बालबालिका कोठाभित्र बसेर पढ्न थाले । अस्ट्रेलियामा रहेका नवीन रम्तेलले पानीखानेको कल बनाइदिए । कसैले शौचालय बनाइदिए। वडा कार्यालयले बालकेन्द्रसम्म जाने बाटो बनाइदिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .