ad ad

छापा खबर


प्रधानमन्त्री ओली र उनकी पत्नी शाक्यले उद्धार सुरुआत गरेपछि ४ सय सडक मानवको उद्धार

प्रधानमन्त्री ओली र उनकी पत्नी शाक्यले उद्धार सुरुआत गरेपछि ४ सय सडक मानवको उद्धार

नेपालखबर
पुस २३, २०७७ बिहिबार १:१२,

दुई साताअघि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ ।

अब चाँडै सडक मानव मुक्त देश घोषणा गर्ने तयारी थालिएको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले संयुक्त रूपमा उद्धार सुरुआतको घोषणा गरेका थिए। सोही रात मानव सेवा आश्रमको ३५ जनाको टोली देशव्यापी उद्धार अभियानमा निस्केको थियो।

नेपाल सरकारले आश्रमसँगको सहकार्यमा २०७८ सालमा सडक मानव मुक्त देश नेपाल घोषणा गर्ने तयारी गरिरहेको छ । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई आश्रमसँग सहकार्य गरी सडकमा कोही पनि व्यक्ति भोको र अशक्त नराख्न सरकारले निर्देशन दिएको छ । सोहीअनुसार स्थानीय तहले आश्रमलाई सडक मानव उद्धारका लागि समन्वय र सहकार्य गरेर सघाइरहेको छ।

पूर्वको मेचीदेखि सुरु भएको उद्धार अभियानअन्तर्गत १३ दिनमा चार सयभन्दा बढी अशक्त, सहयोगापेक्षी र मानसिक रोगीलाई सडकबाट उद्धार गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए।

आफैँले जन्माएका सन्तानको हेलामा परी सडकमा पुगेका वृद्धवृद्धा, मानसिक रोग लागेर परिवारले छाडेका व्यक्ति, माग्ने पेसा अपनाएका, अरू देशबाट आएर सडकमा अलपत्र परेका व्यक्ति सडकमा बढी भेटिएका छन्।

कोरोना भाइरस महामारीमा सडकमा आइपुगेका मानसिक रोगीको सङ्ख्या पनि बढेको पाइएको जानकारी अधिकारीले दिए। बेरोजगारी, आर्थिक समस्या तथा गरिबीका कारण पारिवारिक बेमेल भएर मानसिक रोगको सिकार हुने अनि सडकमा आइपुग्ने प्रवृत्ति रहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .