कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ७ हरैयाका भीम बहादुर वोहरा मद्रासमा एउटा घरमा काम गर्थे। भारतमा कोराना संक्रमण फैलिन थालेपछि त्रासले उनी चैत महिनामा घर फर्के। कमाएर ल्याएको सीमित पैसाले केही दिन उनको चुलो बल्यो।
तर लगातारको लकडाउनले यहाँ कुनै काम पनि नपाइने, भोकभोकै हुदाँ पनि बाँच्ने कुनै उपाय नदेखेपछि उनी मजदुरीको खोजीमा भारततर्फ जान बाध्य भएका छन्।
‘केटाकेटी कसरीे पाल्ने, भोकभोकै छन्। एक छाक खाउ भनेर कसैले दिँदैन।’ उनले पीडा सुनाए, ‘भोकभोकै मर्ने अवस्था भएकाले भारत जानुपर्ने बाध्यता छ।’ पहिलेको ठाउँमा जान नसकिने भएपछि सिमला जान लागेको उनी बताउछन्।
कैलाली लम्की चुहा नगरपालिका वडा नंम्वर ८ कि सुनिता बस्नेत पनि ५ बर्ष र ७ बर्षका दुई छोरासहित भारततर्फ जान नाकामा लाइनमा थिइन्। मुम्मईमा होटलमा मजदुरी गर्ने श्रीमानसँगै उनी बस्थिन।
कोरोना संक्रमण फैलिएपछि दुई महिना पहिले श्रीमानसहित उनी नेपाल फर्केकी थिइन्।‘कोरोनाको त्रासले अब नेपालमै केही काम गरेर बस्ने भनेर बालबच्चासहित घर आएका थियौं’उनले भनिन्,‘यहाँ कुनै रोजगार पाइदैन, लकडाउन मात्र छ, परिवार पाल्न नै समस्या भएर भोकभोकै हुनुपर्ने अवस्था आएपछि सबैैजना उतै जानु परेको छ।’
भारतमा मजदुरी गरेर परिवार पाल्नेहरु दुई तीन महिनामै खान पनि नपाएर भोकभोकै हुने अवस्थाले कत्ती अत्तालिएका छन् भन्ने कुरा दुई छोरा र श्रीमतीलाई समेत केही दिन नकुरेर उनका श्रीमान एक साताअघि भारत पुगिसकेकोले पनि झल्काउन्छ। यो खबर आजको नागरिक दैनिकमा धनगढीबाट दिलबहादुर छत्यालले लेखेका छन्।
गौरिफन्टा नाकामा एक साता यता भारतबाट प्रवेश गर्नेको भन्दा भारत जानेको संख्या बढी रहेको कैलालीका प्रहरी नयाव उपरीक्षक प्रतिक बिष्टले बताए।‘ सुदूरपश्चिमका बिभिन्न जिल्ला, बर्दिया, बाँके लगायतका मजदुरीका लागि सुदूरपश्चिमको नाका भएर भारततर्फ गरहेका छन्।
आयश्रोत नभएको र आफूसँग भएको जमिनको कमाइले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिव ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। फागुन यता ३ लाख बढी नेपालीहरु घर फर्केका छन्।
प्रतिक्रिया