ad ad

छापा खबर


पत्नी तुलसालाई मन्त्री बनाउने आश्वासन दिएर वामदेवलाई फकाउँदै प्रधानमन्त्री ओली

पत्नी तुलसालाई मन्त्री बनाउने आश्वासन दिएर वामदेवलाई फकाउँदै प्रधानमन्त्री ओली

नेपालखबर
भदौ १५, २०७७ सोमबार २३:५८,

उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहमा पुगेको नेकपाको विवाद पुनः बल्झिने संकेत देखिएको छ।

प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई निरन्तरता दिने गरी राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सांसदमा सिफारिस गर्ने तयारी गरिरहेकै वेला गौतमले सोमबार सार्वजनिक रूपमै रुचि राखेपछि विवाद बल्झिने संकेत देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटेर नै आफ्नो चासो व्यक्त गरेका छन्।

नेकपाले पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न १८ भदौमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकको तीन दिनअघि गौतमले सञ्चारमाध्यममार्फत आफूलाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा १४ फागुनमा पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने अडान सार्वजनिक गरेका हुन्।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेपछि खतिवडाले गत फागुनमा सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीका रूपमा शपथ लिएका थिए । संसद् सदस्य नरहेका अर्थमन्त्री खतिवडाको म्याद २१ भदौमा सकिँदै छ । प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा निरन्तरता दिने हो भने सरकारले २० भदौअघि नै राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नुपर्नेछ।

राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने एक सिट खाली छ । यही सिटमा गौतमको दाबेदारीले प्रधानमन्त्री ओलीमाथि दबाब बढाएको छ। गौतमको प्रस्तावले अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने प्रधानमन्त्री ओलीको चाहनालाई ठेस पु¥याउने खतरा छ।

‘अब गौतम र खतिवडा कसलाई रोज्ने भन्ने प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब परिहाल्यो नि! ’ स्थायी कमिटीका एक सदस्यले भने, ‘अहिलेसम्म ओलीले रोके, अब गौतमले रोक्लान्।’

वरिष्ठ नेता झलनाथ खनालले पनि गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी निर्णय कार्यान्वयनको विषय स्वतःसिद्ध कुरा भएको बताए । ‘पार्टीले जे निर्णय गरेको छ, त्यो निर्णय कार्यान्वयन गर्नुपर्छ । त्यो त (राष्ट्रिय सभामा पठाउने निर्णय कार्यान्वयन) स्वतःसिद्ध कुरा हो,’ खनालले भने, ‘बैठकले पहिल्यै निर्णय गरिसकेकाले पटक–पटक सल्लाह गरिरहनुपरेन, त्यसैले अब बस्ने सचिवालय बैठकमै त्यसबारेमा छलफल हुन्छ।’

गौतमको पछिल्लो प्रस्तावमा खनालसहित अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सचिवालयका बहुमत सदस्यको साथ छ।

१२ भदौमा प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले डा.खतिवडालाई राष्ट्रिय सभामा पठाएर अर्थमन्त्रीमा निरन्तरता दिने गरी तयारी गरेको बताएका थिए । प्रचण्डले सोमबार सामाजिक सञ्जालमार्फत ओलीको उक्त प्रस्तावमाथि प्रश्न उठाएका छन् । ‘पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिस्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो,’ प्रचण्डले भनेका छन्।

केही दिनअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टीले उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरिसकेकाले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने पार्टी निर्णयको औचित्य सकिएको बताएर आफूले खतिवडालाई नै निरन्तरता दिन चाहेको प्रस्ट संकेत गरेका थिए । प्रधानमन्त्री ओलीको यो टिप्पणीमा गौतमले असन्तुष्टि जनाएका छन्।

खतिवडालाई निरन्तरता दिन चाहेका प्रधानमन्त्री ओलीले भने गौतमलाई मनाउने प्रयास जारी राखेका छन् । प्रत्यक्ष कुराकानी गरेर तथा निकट नेताहरूमार्फत प्रधानमन्त्री ओलीले गौतमलाई पार्टी नेतृत्वका लागि तयारीमा लाग्न सुझाब दिएका छन्।

गौतम ‘कन्भिन्स’ भएको अवस्थामा खतिवडालाई पुनः अर्थमन्त्रीमा निरन्तरता दिएर श्रीमती तुलसालाई मन्त्री बनाउने सोचमा प्रधानमन्त्री रहेको उनीनिकट स्रोतले जनाएको छ । तर, गौतमले भने पार्टीको निर्णय कार्यान्वयन नभएको ६ महिना बितिसकेकाले त्यसभन्दा दायाँबायाँ हुन नसक्ने स्पष्ट जवाफ फर्काएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .