ad ad

छापा खबर


लकडाउनको अवधिमा विदेशमा ४५६ नेपालीको मृत्यु

लकडाउनको अवधिमा विदेशमा ४५६ नेपालीको मृत्यु

नेपालखबर
साउन १४, २०७७ बुधबार १:१७,

लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्।

यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।

कोरोनासँगै आत्महत्यालगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ।

मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश गएकाहरू धेरै रहेको विभागका निर्देशक जंगबहादुर गुरुङले बताए। निर्देशक गुरुङका अनुसार कोरोना महामारीसँगै विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै छ।

‘यो अवधिमा कोरोना भाइरसबाट मात्र नेपालीले ज्यान गुमाएका छैनन्, यहाँ आत्महत्याको पक्ष पनि छ’, उनले भने, ‘जागिर गएको र लकडाउनका कारण उकुसमुकुस भइरहेको अवस्थामा आत्महत्या गर्नेको संख्या बढेको होला।’

सामान्य समयभन्दा लकडाउन अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढेको उनको भनाइ छ। ‘अरू बेला यति छोटो समयमा यति धेरै थिएन जस्तो लाग्छ’, उनले भने, ‘यो बेला मृत्यु हुने संख्या बढेको हो कि जस्तो देखिएको छ।’

विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी साउदी अरबमा १ सय ५८ नेपालीले ज्यान गुमाएका हुन्। यही अवधिमा यूएईमा ८०, कतारमा ७५, मलेसियामा ६६, कुवेतमा २२, जेद्दाहमा १३, बहराइनमा १०, दक्षिण कोरियामा ८ र अन्य मुलुकमा १४ जनाले ज्यान गुमाएको देखिन्छ।

यही अवधिमा ९८ नेपालीको शव नेपाल ल्याइएको छ। साउदीबाट ५३, कतारबाट २३, कुवेतबाट १०, बहराइनबाट ७, जेद्दाहबाट २, यूएई, मलेसिया र अन्य राष्ट्रबाट १÷१ जनाको शव नेपाल ल्याइएको विभागको तथ्यांकले देखाउँछ।

१ सय ६४ जनाको शव विदेशमै दाहसंस्कार गर्न उनीहरूका परिवारले मञ्जुरी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .