ad ad

छापा खबर


स्वाब नमुना दिएकाको गुनासो : १५ दिन बित्यो, खोइ हाम्रो रिपोर्ट?

स्वाब नमुना दिएकाको गुनासो : १५ दिन बित्यो, खोइ हाम्रो रिपोर्ट?

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १:१६,

देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन्।कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ।

स्वाब संकलनको संख्या बढेसँगै परीक्षणको नतिजा ढिलो भएको प्रयोगशालाहरुले जनाएका खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

हाल देशभर २१ स्थानमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । संक्रमण पहिचानका लागि स्वाब दिएका केहीले लामो समयसम्म पनि रिपोर्ट नपाएको गुनासो गरेका छन् । स्वाब नमुना दिए पनि नतिजा नै थाहा नपाएको समेत उनीहरूको गुनासो छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी समन्वय नगर्दा परीक्षण गरिएका नतिजाको रिपोर्ट पाउन नसकेको उनीहरूको गुनासो छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ लाख ९ सय ७१ जनाको आरटीपीसीआर विधिबाट कोरोना परीक्षण भएको छ।

परीक्षण गरिएकाहरूको नतिजा पनि एकदमै ढिलो आउने गरेको छ। कोरोना परीक्षणका लागि कपिलवस्तु नगरपालिकामा स्वाब संकलन गरेका एक स्वास्थ्यकर्मीले भने, ‘मेरो स्वाब जेठको पहिलो साता लिइएको हो । नतिजा के आयो, जानकारी पाउन सकेको छैन।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले जनशक्ति अभावमा परीक्षणको गति सुस्त भएको बताइन् । उनले भनिन्, ‘थोरै जनशक्तिले काम गर्नुपर्ने बाध्यता भएकाले संकलन भएका स्वाबहरू होल्ड भएका हुन्।’

उनले परीक्षणको दायरा बढाउन आरएनए एक्स्ट्रयाक्सन अटोमेटिक मेसिनको संख्या थप गर्नुपर्ने बताइन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्मको परीक्षण नतिजा होल्ड हुने गरेको छ । सो प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्म परीक्षणका लागि आउने गरेका छन्।

नेपालमा सोमबार ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

नेपालमा हालसम्म ४ सय ८८ जना उपचारपछि निको भएका छन् । हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । संक्रमित मध्ये १४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .