ad ad

छापा खबर


अन्तर्जातीय प्रेमविवाह गरेका दलित युवा बलात्कारको झुटा मुद्दामा दुई वर्षदेखि जेलमा

अन्तर्जातीय प्रेमविवाह गरेका दलित युवा बलात्कारको झुटा मुद्दामा दुई वर्षदेखि जेलमा

नेपालखबर
जेठ २१, २०७७ बुधबार १:२८,

झापाको दमक नगरपालिका-२ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे।

सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई महिना प्रेम–सम्बन्धमा रहेपछि विवाह गरेका थिए ।

तर, बिहे गरेको सातौँ दिन प्रहरी घरमै आएर सुमन र ती किशोरीलाई पक्राउ गरेर लग्यो। ‘पुलिसले हथकडी लगाएर लग्यो । किन लग्यो हामीले त थाहै पाएनौँ,’ सुमनका बुबा गोपालले भने, ‘पछि त तेरो छोराले बलात्कार गर्‍यो पो भन्छन्,’ विवाह नगरे आत्महत्या गर्ने प्रेमिकाको घुर्कीपछि सुमनले उनलाई भित्र्याएका थिए।

तर, प्रेमको बदला उनले जेल सजाय पाएका खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट चिरञ्जीवि घिमिरेले लेखेका छन्। जिल्ला अदालत झापाले सुमनविरुद्ध जबर्जस्ती करणी मुद्दामा नौ वर्ष जेल सजाय तोकेको छ। उनी अहिले बाल सुधारगृह विराटनगरमा छन्।

छोरीले कथित तल्लो जातको युवकसँग बिहे गरेपछि उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा बलात्कार मुद्दा दर्ता गराएको थियो। प्रहरी र अदालतमा ती किशोरीले सहमतिमै विवाह गरेको बयान दिँदा पनि सुमनले धर पाएनन्।

‘जातकै कारण मेरो छोरोलाई फसाइयो । बिहे गरेर घरमा ल्याएकी बुहारीलाई बलात्कार गर्‍यो भनियो । त्यस्तोमा कसरी बलात्कारको मुद्दा लाग्यो,’ गोपालले भने, ‘बरु, बालविवाह गरेको भन्न मिल्छ, त्यही मुद्दा लगाएको भए ठीकै हो भन्न पनि हुन्थ्यो नि।’

अहिले वेलावेला छोरा भेट्न विराटनगर पुग्छन् गोपाल । ‘जति खर्च लाग्छ यहाँबाट निकाल्नु बुबा, बरु म कमाएर तिर्छु’ भन्दै सुमन रुन्छन् । छोराको रोदनले गोपाल पनि भक्कानिन्छन्।

‘मनमनै भन्छु– दलित भएर जन्मनु नै तेरो पाप रहेछ,’ गोपालले भने, ‘हामी निमुखाको त के नै पो लाग्दोरहेछ र।’ दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने गोपाल कानुनको भाषा बुझ्दैनन्, छोरो छुट्ने आसमा कानुन व्यवसायी जे भन्छन् त्यही गर्छन्।

मुद्दा–मामिलामा अहिलेसम्म एक लाख सकिसके, तर छोरो छुटेन । ‘खै वकिलले छुट्छ भन्थ्यो । पैसा मात्र लग्यो, तर छोरा छुटेन, अहिले पनि के–के गर्दिन्छु भन्छन् । पैसै मात्र माग्छन्,’ गोपालले भने।

कानुन व्यवसायीले मात्रै होइन, सुमनविरुद्ध किटानी जाहेरी दिएका किशोरीका बुबाले समेत मुद्दा मिलाइदिने भन्दै गोपालबाट ३५ हजार रुपैयाँ खाए। अदालत र प्रहरीमा कमजोर बयान दिएर मुद्दा कमजोर बनाइदिने उनको प्रतिबद्धता थियो।

गोपालले कागज गरेरै रकम दिएका थिए, तर छोरो जेल जानबाट बचेन । पैसा दिँदा गरिएको कागजमा भने छोरी खोज्दा लागेको पैसा बुझेको उल्लेख छ । ‘म मुद्दा मिलाइदिहाल्छु नि भने । होला नि त भनेर ३५ हजार दिएँ । बेकार पैसा मात्र गयो,’ गोपालले भने । पैसा दिएको प्रमाण अहिले पनि गोपालको दराजमा छ।

अन्तर्जातीय प्रेमलाई विवाहमा परिणत गर्दा सुमनजस्तै दर्जनौँ दलित युवा–युवतीले झुटा मुद्दामा सजाय भोगिरहेका छन्, अधिकांशलाई कथित उपल्लो जातको बोलवाला रहेको समाजले समेत तिरस्कार गर्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .