प्रहरीले अहिलेसम्म औपचारिक रूपमा विप्लवको विवरण सार्वजनिक गरेको छैन। न त उनी रहेको स्थानबारे नै जानकारी दिन चाहन्छ।
तर, अनौपचारिक रूपमा भने पार्टी प्रतिबन्ध भएपछि विप्लव नेपाल र भारतको सीमाक्षेत्रमा बस्दै आएको प्रहरीको उच्च अधिकारी दाबी गर्छन्।
उनीहरूका अनुसार पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन उनी कहिलेकाहीँ नेपाल प्रवेश गर्छन्। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।
अत्यन्त उच्च सुरक्षा सतर्कताका साथ नेपाल प्रवेश गर्ने उनी थोरै समय मात्रै कार्यक्रममा रहन्छन्। नेपालको एक ठाउँदेखि अर्को ठाउँमा जानुपर्ने अवस्थामा उनी बाटोका लागि भारतीय भूमि प्रयोग गर्छन्।
प्रहरीका अनुसार उनी सधैँ विश्वासिला सचिवालय सदस्यबीच रहने गर्छन्। पक्राउ पर्ने डरले उनी मोबाइल फोन प्रयोग गर्दैनन् । सकेसम्म कसैसँग पनि भेट गर्दैनन् । उनको अत्यन्त सीमित व्यक्तिसँग मात्रै भेट हुन्छ, त्यो पनि सचिवालय सदस्यबाट खबर भएपछि मात्रै। अन्य व्यक्तिसँग फोनमा समेत कुरा गर्दैनन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा भन्छन्, ‘विप्लवका बारेमा हामीलाई जानकारी छैन, जानकारी भए पक्राउ परिहाल्थ्यौँ। यस सम्बन्धमा अहिले यति बुझौँ।’
Shares
प्रतिक्रिया