पार्टी नेता, कार्यकर्ता र सदस्यहरूका लागि आचारसंहिता जारी भएपछि ‘नेताहरूले टेकेको धरातल भने कस्तो छ?’ भन्ने बहसले नेकपाभित्र पुनः प्रवेश पाएको छ। यो बहसको सुइरो आचारसंहिता जारी गर्ने नेताहरूतर्फ नै सोझिएको छ।
नेकपा संगठन विभागले तयार पारेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको हस्ताक्षरमा माघ ५ गते जारी भएको आचारसंहितामा आदर्शवादी ११ वटा बुँदा छन् ।
बुँदा नं ७ ले ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्याएर काम गर्नुपर्छ मात्रै भनेको छैन भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने र त्यस्ता केही सूचना भए सरकारलाई जानकारी गराउन पनि निर्देशन दिएको छ।
त्यसो हो भने सबभन्दा पहिले प्रश्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालतर्फ नै तेर्सिने नेताहरू बताउँछन्। दाहाल अहिले बसेको खुमलटारस्थित घर विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको हो। अधिकारी ठेक्का लिने र समयमा काम पुरा नगर्ने ठेकेदारको सूचीमा अग्रपंक्तिमा छन् के दाहालले अधिकारीले गरेको यो अनियमितताको सूचना सरकारलाई देलान्?
‘दिनुपर्छ,’ नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेल भन्छन्, ‘आफैंले जारी गरेको आचारसंहिता पालना गर्ने परिपाटीको सुरुवात पार्टीको माथिल्लो पंक्तिबाट हुनुपर्छ, विवादास्पद व्यक्तिहरूसँगको संगतबाट नेतृत्व जोगिनुपर्छ।’
दाहाल अधिकारीको घरमा सर्नुअघि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानमा रहेका व्यापारी अजेयराज सुमार्गीकी जेठी सासू शशी अर्यालको लाजिम्पाटस्थित घरमा बस्थे।
उसो त नेकपा एकीकरणका सुरुवाती बैठकहरू नै विवादित मेडिकल सञ्चालक दुर्गा प्रसाईंको घरबाट भएका थिए। नेकपा अध्यक्षद्वयले आफूलाई गर्ने व्यवहार स्वयं प्रसाईंले नै खोलिरहेका छन्।
आचारसंहिताको नवौं बुँदाले नेकपाका प्रत्येक सदस्यले आफ्नो दिनचर्यामा सादा जीवन र उच्च विचारलाई प्राथमिकता दिनुपर्ने भनेको छ । यो बुँदाले पनि प्रश्न नेतृत्वतर्फ नै सोझ्याउँछ।
यो आचारसंहिताको मस्यौदा गर्ने संगठन विभाग प्रमुख वामदेव गौतमले चढ्ने गाडी मात्रै हेर्ने हो भने जवाफ भेटिन्छ। उनको जीवनशैली आचारसंहिताले भनेझैं साधारण छैन। हाल उनी बस्दै आएको घर र चढ्दै आएको एसयूभी गाडीले पनि यो देखाउँछ।
गौतममात्र होइन, उनीलगायत शीर्ष नेताहरूको खानपान, भेटघाट र बसाइ, लगाउने लुगादेखि घडीसम्मका ब्रान्डबारे बेलाबेला नेकपाका नेतारकार्यकर्ता नै बहस गर्छन्।
‘नेताहरूको यो शैली सादा जीवन र उच्च विचारअन्तर्गतको हो कि होइन रु नेतृत्वले यसको स्पष्ट जवाफ दिएर सबभन्दा पहिले कार्यकर्ता पंक्तिलाई आश्वस्त पार्नुपर्छ,’ केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले भने।
यही बुँदामा नेताको जीवनशैली जनताको बीचमा खुला किताबजस्तै हुनुपर्ने उल्लेख छ। तर जनता र कार्यकर्ताको कुरा धेरै पर, केन्द्रीयस्तरका नेताले पनि अत्यावश्यक परेका बेला नेतृत्वलाई भेट्न पाउँदैनन्।
गत मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गरेपछि बाहिरिएका मन्त्रीहरूले प्रधानमन्त्री ओलीले समय नदिएकाले ६ महिनासम्म पनि भेट्न नपाएको गुनासो गरेका थिए। तर अध्यक्षहरूको निवास, प्रमुख नेताहरूका घर, मन्त्रीहरूका क्वार्टर र कार्यालयहरूमा बिहानदेखि रातिसम्मै भेट्नेहरूको लाइन हुन्छ।
एकातिर जनताको माझमा रमाउनुपर्छ भनेर आचारसंहिता जारी गर्ने अर्कातिर कार्यकर्तासित भेट्नै नरुचाउने नेकपा नेतृत्वको समय कसरी सकिन्छ? नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको विश्लेषणमा त्यस्ता भेटहरू प्रायः नियुक्ति, सरुवा, बढुवा र व्यापारिक प्रयोजनका लागि हुन्छन्।
प्रधानमन्त्री र पार्टी अध्यक्षहरूको व्यवहारबाट आजित अरू नेताहरूले पनि त्यसकै सिको गर्ने चलनबारे न्यौपानेको टिप्पणी छ, ‘माथि चाकडी गर्न बानी परेकाले तल दण्ड चलाउँछन्।’
बोहरा पनि नेताहरूमा जनताको पहुँच र सम्पर्कमा बस्नै नरुचाउने शैली हाबी हुँदै गएको बताउँछन् । ‘आचरण सुधारको सुरुवात आफैंबाट गर्नुपर्छ, नेताहरूमा त्यो चिन्तन देखिँदैन,’ उनले भने, ‘आफ्नो नेतालाई कार्यकर्ताले त भेट्न पाउनुपर्यो नि तर नेतालाई कार्यालयमा भेट्नै मुस्किल छ, उनीहरूको घरसम्म पहुँच नराख्नेले कहाँ भेट्ने ?’
आचारसंहिताले उठाएको अर्को कुरा हो, ‘पार्टीमा सामूहिकताको विकास गरौं, कम्तीमा महिनाको एक दिन भए पनि वनभोज जाने बानीको विकास गरौं ।’ स्वयं नेकपाका अध्यक्ष कम्युनिस्ट पार्टीको चरित्र भनेर व्याख्या गरिएको सामूहिकतामा कति रुचाउँछन् त ?
‘अहँ, नेतृत्वमा सामूहिक चरित्र देखिँदैन,’ बोहरा भन्छन्, ‘नत्र त केन्द्रीय कमिटीको बैठक आउँदै छ, त्यही आचारसंहिता पनि कमिटीमा व्यापक छलफल गराएर पारित गर्न सकिन्थ्यो, त्यसले सामूहिकताको संकेत पनि गर्थ्यो।’ नेकपाका धेरै निर्णय अध्यक्षद्वयको तजबिजमा मात्रै हुन्छन्।
व्यक्तिवादी चरित्र हुनु हुन्न भन्ने आचारसंहिता बनाउने नेता गौतम हुन्। उनी नै अहिले संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खोल्न लबिइङ गरिरहेका छन्।
उनले प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए राष्ट्रिय सभा सदस्य बन्ने भन्दै बालुवाटारमा प्रधानमन्त्री ओलीसँग गत महिना गलफती गरे । माग सुनुवाइ नभएपछि उनले राष्ट्रिय सभा सदस्य बन्न मानेनन् । यसको रिस भैंसेपाटी भेला गरेर पोखे, जुन भेला पार्टीको पद्धति र विधिको दायराभित्र पर्दैन । अहिले जारी भएको आचारसंहिताको कसीमा जाँच्ने हो भने त्यो अनुशासनहीन काम हो।
सार्वजनिक कार्यक्रममा अध्यक्षद्वयका लागि राखिने कुर्सी र अरू अतिथिका लागि व्यवस्था गरिएको कुर्सीको प्रकारमा किन फरक छ? नेताहरू पिर्कामै चढेर भए पनि सलामी खान किन हौसिन्छन् ?
कतै जानासाथ नेताहरूले लगाउने माला, खादा र केही सार्वजनिक कार्यक्रम हुनासाथ बिजुलीका पोल र भित्ताहरूमा टाँसिने फोटाहरूको अर्थ के हो ? आवश्यकभन्दा धेरै र राज्यले निर्धारण गरेको विधिलाई समेत मिचेर सुरक्षाकर्मीको व्यवस्था किन हुन्छ? प्रश्न शीर्ष नेताहरूतिरै सोझिन्छ ।
आचारसंहिता र नेताको व्यवहारबीच विरोधाभास सिर्जना गर्ने अर्को विषय हो, भाषा। आचारसंहितामा ‘अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ, कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्छ’ भनिएको छ।
तर आचारसंहिताले स्वयं नेकपाले नै भन्ने गरेको सामन्ती पारा झल्किने गरी ज्यू, हजुर, बक्सियोस् नभनौं भनेको छैन । उसो भए नेकपा यो पथमा गएको हो त?
आजको कान्तिपुरमा बिनु सुवेदी लेख्छिन्– यसमै जोडिने अर्को कुरा, अध्यक्षद्वयको छुट्टाछुट्टै आड भरोसामा सामाजिक सञ्जाल र पार्टी फोरमहरूमा पनि अनुशासन बिर्सिएर बोल्ने नेताहरूको संख्या बढिरहेको छ। त्यस्ता नेताहरूलाई अनुशासन बिर्सेका आधारमा नेकपा अध्यक्षद्वयले कारबाही गरेको उदाहरण छैन, बरु संरक्षण गरेका छन् ।
अब यो आचारसंहिता बिर्सेर जथाभाबी बोल्नेलाई नेतृत्वले कारबाही गर्छ ? अनि बेलाबेला व्यक्ति लक्षित टीकाटिप्पणी स्वयं अध्यक्षहरूले पनि गर्न छाड्छन् त ?
‘कठिन छ,’ स्थायी कमिटी सदस्य पोखरेल भन्छन्, ‘कम्युनिस्ट आचरण र अनुशासन माथिदेखि नै स्खलित भएको छ।’
छोरी, छोराको विवाहलाई सरल, मितव्ययी बनाउनुपर्ने गरी आचारसंहिता मस्यौदा गर्ने संगठन विभाग उपप्रमुख जनार्दन शर्माले गत मंसिरमा मात्रै झम्सिखेलस्थित एक पार्टी प्यालेसमा छोरीको विवाह पार्टी गरेका थिए। नेता सोमप्रसाद पाण्डेको छोराको बिहे पनि धुमधामसँग भएको थियो।
आचारसंहितामा जन्म दिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ भनिएको छ। हेर्दा यो सामान्य नै लाग्छ । ‘तर विल्कुल धर्ममा आधारित व्रतबन्ध, पास्नीजस्ता संस्कारलाई नेकपाले संस्थागत रूपमै अनुसरण गर्न खोजेको हो रु’ केन्द्रीय सदस्य न्यौपानेले भने, ‘कम्युनिस्ट पार्टीमा यस्ता कुरा अप्राकृतिक हुन्, बन्देज नै लगाउनुपर्ने हो।’
नेकपा आचारसंहितामार्फत घरदेखि समाज र पार्टीसम्म महिलाको सम्मान गर्नुपर्छ भन्छ। तर समावेशीकरणको कुरा उठाउने र नेतृत्वमाथि प्रश्न गर्नेलाई छानी–छानी किनारा लगाउँछ। पार्टी कार्यकर्तालाई सम्मान गर्नुपर्छ भन्छ तर विगतमा गरेको योगदान भुलेर नवप्रवेशी र नातेदारलाई छानी–छानी सुविधाको पद दिन्छ।
जस्तो कि नेकपामा छिर्नेबित्तिकै सांसदको टिकट पाएका रामेश्वर राय यादव अहिले श्रम तथा रोजगारमन्त्री छन् । व्यापारिक घरानाका मोतीलाल दुगड उद्योग तथा वाणिज्य राज्यमन्त्री कसरी बने ? जवाफ अध्यक्षद्वयले कार्यकर्तालाई दिएकै छैनन्।
Shares
प्रतिक्रिया