ad ad

छापा खबर


बेंसी जान उठिनन् पार्वती

बेंसी जान उठिनन् पार्वती

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ३:३९,

विस्तारै बोल्ने । सधैं हाँसिरहने । जस्तोसुकै काम पनि मन लगाएर गर्ने । केटाकेटीलाई माया गर्ने ।

साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको स्वभाव कसैलाई नबिझाउने थियो । उनी घरपरिवार मात्र होइन, समाजकै प्यारी थिइन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला उनै पार्वतीले ‘छाउपडी प्रथा’ का कारण संसार छोडिन् । महिनावारीको चौथो दिन सोमबार बिहान छाउगोठमै मृत अवस्थामा भेटिइन् । यो खबर आजको कान्तिपुर दैनिकमा अछामबाट मेनुका ढुंगानाले लेखेकी छन्।

छाउगोठ पार्वतीको घरदेखि केही टाढा र छिमेकी जेठाजु लालबहादुर बुढाको घरबाट नजिक छ । पार्वती केही अप्ठ्यारो पर्दा उनै लालबहादुरको परिवारसँग सहयोग माग्थिन् । तर आइतबार राति उनी सहयोग लिन नपाई बितिन् ।

लालबहादुरका अनुसार पार्वतीले आइतबार दिनभर बारीमा काम गरेकी थिइन् । हरियो सागपात टिपिन् । साँफेबगर बजारमै बस्ने माइतीलाई आएर साग लैजान भनिन् । भाउजू आइन् ।

आमाबुबा, दाजुहरूलाई पकाएर खुवाउन भन्दै भाउजूलाई साग दिएर पठाइन् । साँझ खाना खाइन् । राति ११ बजेतिर छिमेकी जेठानी संगीतालाई खाना खाइयो कि नाइँ, कतिखेर सुत्ने हो भनेर फोनसमेत गरेकी थिइन् ।

‘पार्वती दिनभर हाँसीखुसी देखिन्थिन्,’ उनले भने, ‘रुघाखोकीले जहिल्यै सताउन लाग्यो दिदी, केहीगरी निको नहुने भयो भन्दै मेरो श्रीमतीसँग कुरा गर्दा पनि उनलाई केही समस्या परे जस्तो देखिँदैनथ्यो ।’

सबेरै उठेर घरको काम गर्ने पार्वती सोमबार साढे ७ भइसक्दा पनि नउठेपछि होहल्ला भएको लालबहादुरले बताए ।

‘घरमा जेठानी, जेठाजु र उनी मात्र छन् । श्रीमान्, सासूससुरा बम्बै छन् । सोधीखोजी गर्ने हामी नै हौं,’ उनले भने, ‘सोमबहार रवा (बेंसी) बाट उनको पराल घरमा ल्याउनुपर्ने थियो । अघिल्लो दिन पराल ल्याउने चाँजोपाँजो मिलाएकी थिइन् । तर उनी छाउगोठभित्र घोप्टो परेकी थिइन् । नजिकै आगो बालिएको थियो । मृत अवस्थामा भेटिइन्।’

‘शरीरमा कुनै चोट देखिएको छैन, होचो ठाउँमा आगो बालेकाले निसासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका निरीक्षक नरपति भट्टले भने, ‘बिहान साढे ७ बजेसम्म नउठेपछि जेठाजु उठाउन गएका रहेछन् । नबोलेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा भेटिएकी हुन्।’

डेढ वर्षअघि प्रेम विवाह गरेकी पार्वतीले दुर्गा मावि नन्देगडाबाट १२ कक्षा उत्तीर्ण गरेकी थिइन् । दुई दाजुभाइ र ५ दिदीबहिनीमा पार्वती साइँली हुन् ।

सोमबार भतिजीको छाउगोठमा मृत्यु भएको खबर पाएलगत्तै घटनास्थल पुगेका उनका काका दीपक बुढाले गोठमा निसासिएर ज्यान गएको हुन सक्ने अनुमान गरे ।

नगरपालिकाको वडा ३ सिद्धेश्वरमा ४९ प्रतिशत महिला तथा किशोरी महिनावारी हुँदा गोठमै बस्ने तथ्यांक रहेको वडाध्यक्ष कृष्ण बुढाले बताए । ‘हालै नगरले तथ्यांक लिएको थियो, महिनावारीका बेला गोठमा बस्ने अत्यधिक देखिए,’ उनले भने, ‘यो घटनाले कडा भएर छाउ कुप्रथा हटाउनुपर्ने पाठ सिकाएको छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .