इन्डोनेसियाको ‘रिन्जनी १०० अल्ट्रा ट्रेल रन’मा हङकङवासी दिनानाथ भए दोस्रा

इन्डोनेसियाको ‘रिन्जनी १०० अल्ट्रा ट्रेल रन’मा हङकङवासी दिनानाथ भए दोस्रा

दिनानाथ बगाले


मगेन्द्र राई
जेठ १६, २०८१ बुधबार ८:१५, हङकङ

विश्वकै सर्वाधिक कठिन र चुनौतीपूर्ण दौड प्रतियोगितामध्ये एक ‘रिन्जनी १०० अल्ट्रा ट्रेल रन’अन्तर्गत १६२ किलोमिटर लामो दौडमा हङकङवासी नेपाली धावक दिनानाथ बगालेले दोस्रो स्थान हासिल गरेका छन्। 

गत शनिबार बिहान इन्डोनेसियाको लोम्बोक टापुस्थित बेलाङ्तिन समुद्रीतटदेखि सेम्बालिनसम्म १६२ किलोमिटर निर्धारित दूरी ४८ घण्टा १० मिनेट ५८ सेकेन्डमा पूरा गर्दै बगाले दोस्रा भएका हुन्।

दिनानाथ बगाले

प्रथम भने थाइल्यान्डका फाइरात भारासिन भए। उनले उक्त दूरी ४७ घण्टा ४० मिनेट १५ सेकेन्डमा पूरा गरे। 

यस्तै निर्धारित दूरी ५१ घण्टा ५२ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै भियतनामका ले फि लान तृतीय भए। 

हालसम्म सयौँ प्रतियोगितामा भाग लिइसक्नु भो, यो प्रतियोगिताको अनुभव कस्तो रह्यो?

नेपालखबरको जिज्ञासामा दिनानाथले भने, ‘आफ्नो लक्ष्यअनुरूप नै नतिजा आएको छ, ५० घण्टाभित्र पार गर्ने लक्ष्य थियो, ४८ घण्टामै पार गर्न सफल भएँ। यो प्रतियोगिता मेरा लागि ड्रिम प्रोजेक्टसरह थियो, लामो समयदेखि तयारी गरेको थिएँ। विश्वकै कठिन र चुनौतीपूर्ण रहेको यो दौडमा इन्ज्युरी फ्री भएर दौड पूरा गरेँ। यो दौड जो कसैले आँट गर्न सक्दैन। यो दौडमा टोपी खस्ने उकालोओरालो पार गर्नुपर्छ, १५ हजार ६४ मिटर उकालो छिचोल्नुपर्छ, जुन झन्डै दुईपटक सगरमाथा चढे बराबर हुन्छ। त्यसमाथि ज्वालामुखीले बनेका चट्टान र डाँडा चढ्नुपर्दा ज्यानलाई हत्केलामा राख्नुपर्ने हुन्छ। अन्तत: दोस्रो स्थान हासिल गर्न सफल भएँ, यो मेरा लागि निकै रोमाञ्चक र अविष्मरणीय क्षण रह्यो।’

उनले थपे, ‘वास्तवमा अल्ट्रा ट्रेल रन जीवनको उत्सव र मृत्युको पूर्वाभासको एक गहन अनुभव पनि रहेछ, जसलाई मैले नजिकबाट नियालेँ।’

दौडका क्रममा ३ हजार ७ सय २६ मिटर अग्लो माउन्ट रिन्जनीसहित अन्य ६ वटा अग्ला डाँडाका टुप्पा पार गर्नुपर्छ। ज्वालमुखीको खरानी टेक्दै, हरियाली जंगल, कलकल बगिरहेका झरना, आश्चर्यजनक प्राकृतिक दृश्य, सेगारा अनाक तालको सुन्दरतासँग प्रतियोगीले साक्षात्कार गर्न पाउँछन्। 

प्रतियोगिता २७ किमि, ३६ किमि, ६० किमि, १०० किमि र १६२ किमि गरी विभिन्न विधामा ३३ देशका हजारभन्दा बढी प्रतियोगिहरूको सहभागिता थियो।

दिनाले १६२ किमिमा प्रतिस्पर्धा गरेका थिए। जसको कटअफ टाइम ५५ घण्टा थियो।

सन् २००६ बाट दौडन सुरु गरेका दिनाले हालसम्म चीन, जापान, थाइल्यान्ड, इन्डोनेसिया, हङकङ, अस्ट्रेलिया, फ्रान्स, इटली, स्विट्जरल्यान्डलगायत देशमा सयभन्दा बढी प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

दिना यसै वर्ष सेप्टेम्बर र अक्टोबरमा मलेसिया र कोरियामा आयोजना हुने अल्ट्रा ट्रेल रन भाग लिने नेपालखबरलाई जानकारी गराएका छन्।

दिनानाथ आज बुधबार इन्डोनेसियाबाट हङकङ फर्किंदै छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .