हङकङमा जारी सुपुर्दगी विधेयकविरुद्धको आन्दोलनमा गत शनिबार र आईतबार प्रहरीले प्रदर्शनकारीमाथि ज्यादती गरेको भन्दै प्रदर्शनकारीले त्यहाँ सोमबार र मंगलबार शहरव्यापी हड्तालको आयोजना गरेका हुन्।
२१ क्षेत्रका प्रतिनिधिहरूहरुको आह्वानमा सुरु भएको यस आम हड्ताललाई कन्फेडेरेसन अफ ट्रेड युनियनको सहयोग रहेको छ।
हड्तालमा भाग लिनका लागि हजारौं आन्दोलनकारीहरु सरकारी मुख्य कार्यलय नजिकैको तामार पार्कमा अपरान्ह ४ बजे बाट भेला हुन थालेका छन्।
गत अगस्ट ५ मा सम्पन्न आम हड्तालपछि यो दोस्रोपटक व्यापक औद्योगिक हड्ताल हो।
विधेयकको पूर्ण खारेजी र आन्दोलनमा प्रहरीको ज्यादतीविरुद्ध स्वतन्त्र अनुसन्धान आयोग गठन गर्नपर्ने जस्ता मागहरु राख्दै आफूहरुले हड्तालको आह्वान गरेको आयोजकले बताएको छ।
हड्तालमा भाग लिन कोहि काम बाट छुट्टि भएपछि आएका छन् भने विद्यार्थी तथा शिक्षकहरु स्कूल सकेर आएका छन्। कोही स्कूल छुट्टि नै लिएर त केही पठनपाठन बहिष्कार गरेर पनि आन्दोलनमा उपस्थित भएका छन्।
सभालाई सोमबार विधायिका परिषदका सदस्य तथा प्रजातन्त्र समर्थक क्याम्पकी संयोजक क्लाउडिया मा, स्वतन्त्रता पक्षधर बागियो लेउङ लगायतले सम्बोधन गरेका छन्।
सोमबार बाटै २ महिने वर्षा विदा सकाएर सुचारु हुनु पर्ने स्कूल, विश्वविद्यालयहरुले कक्षा बहिष्कार गरेका छन्।
विश्वविद्यालयका विद्यार्थीहरुले कक्षा बहिष्कार गर्दै सरकारलाई आफ्ना माग पूरा गर्न दवाव दिइरहेका छन्। उनीहरुले २ हप्ताको समयसिमा तोकेर जुलुस निकालेका छन्।
उनीहरुका अनुसार ३०,००० विद्यार्थीहरुले उक्त जुलुसमा सहभागिता जनाएका छन्। सोही स्थानमा सन् २०१४ को छाता आन्दोलनमा १३ हाजर विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।
गएको दुई तीन दिन अगाडिबाट हङकङमा हिंसा झनै भड्किएको छ। आन्दोलनकारी र प्रहरीबीचको झपडमा कैयौं घाईते भएका छन भने शुक्रबारदेखि आईतबारसम्ममा प्रहरीले १३ देखि ५८ बर्षका १ सय ३२ पुरुष र २७ महिलाहरु गरि १ सय ५९ आन्दोलनकारीहरुलाई गिरफ्तार गरिसकेको छ।
उनीहरुलाई गैर कानुनी सभा, घातक हतियार बोकेको र प्रहरीमाथि हमला गरेको जस्ता अभियोगमा पक्राउ गरिएको हङकङ प्रहरीले बताएका छन्।
झडपको क्रममा प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन २ सय ४१ अश्रुग्यास, ९२ रबरका गोली, एक बिन ब्याग र १० स्पन्ज बुलेटहरू प्रयोग गरेको पुलिस जनसम्पर्क विभागका प्रमुख त्से चुंग–चुंगले बताएका छन्।
आन्दोलनबारे जानकारी दिँदै हङकङका सहायक प्रहरी आयुक्त माङ चीन होले आन्दोलनकारीहरुले प्रहरीमाथि आक्रमण गरेको, पेट्रोल बम प्रहार गरको बताए।
उनका अनुसार आन्दोलनकारीले प्रयोग गरेको पेट्रोल बम अश्रुग्यासभन्दा खतरनाक र विनाशकारी छ।
आन्दोलनकारीले अहिलेसम्म १०० भन्दा बढी पेट्रोल बम प्रहरीमाथि आक्रमण गरेको उनको भनाइ छ।
सरकारविरुद्धको आन्दोलन १३ औं हप्तामा प्रवेश गरिसकेको छ। हिंसा चर्कदै जाँदा कार्यकारी प्रमुख क्यारी लामले आपतकालिन अध्यादेश वा जनमुक्ति सेना परिचालन हुन सक्ने व्यापक त्रास फैलिएको बताएकी छिन्।
प्रतिक्रिया