क्वाई चुङ प्रहरी स्टेसनमा कार्यरत ४५ बर्षीय प्रहरी अधिकारीमाथि शुक्रबार राति ड्युटी सकेर घर फर्कने क्रममा आक्रमण भएको हो।
घाइते प्रहरीका अनुसार हतियारसहितका तीन नकाबधारीहरुले रातको ११ बजे क्वाई फोङ रेल स्टेसन नजिकै आक्रमण गरेका थिए।
अपराधमा सङ्लग्न आक्रमणकारीले ती प्रहरीलाई पछाडी बाट दाहिने कुम र पाखुरामा चार पटक छुरा प्रहार गरेका थिए।
तीन आक्रमणकारीहरु मध्ये दुईले कालो र एकले खैरो कपडा लगाएका थिए। आक्रमणपछि तिनै जना रेल चढी फरार भएका थिए।
हङकङ प्रहरीका अनुसार घाईते प्रहरी अधिकारी क्वाई चुंग स्टेसनको स्टोर व्यवस्थापन विभागको शस्त्रागारमा कार्यारत छन्।
छुरा प्रहारबाट गहिरो चोट लागे पनि घाईते सचेत अवस्थामै छन्। शनिबार बिहान घाईतेलाई प्रहरी प्रमुख स्टेफन लोले भेट गरेका छन्।
उक्त आक्रमणलाई लोले घृणित कार्य भएको बताएका छन्। घटनाको निन्दा गर्दै उनले पत्रकारहरु सामु भने,“म आक्रमणप्रति धेरै दुखी र क्रोधित छु। यसरी खुल्लमखुल्ला एक प्रहरी अधिकारीमाथि साङ्घातिक आक्रमण गर्नु घृणाजनक कार्य हो। अपराधीलाई कानुन बमोजिम खोजेर कडा कारवाही गरिनेछ।’
लो ले घटनाको प्रत्यक्षदर्शीहरुलाई प्रहरीसँग सम्पर्क गरी जानकारी उपलब्ध गराउन अपिल समेत गरेका छन्।
बेजिङले उक्त घटनालाई क्रुर र घृणित भनी निन्दा गर्दै कडा कारवाही हेर्न प्रतिक्षारत भएको बताएको छ। साथै हङकङमा कानुन पालना गराउनको लागि प्रहरी शक्तीलाई यस्तो हर्कतले हतोत्साहित गराउन नसक्ने समेत बताएको छ।
उक्त घटनालाई न्यू टेरिटोरिज दक्षिण क्षेत्रीय अपराध इकाईले अनुसान्धन गरिरहेको छ।
हङकङमा सरकार विरोधी आन्दोलन भैरहँदा आन्दोलनकारीहरुले प्रहरी चौकी, प्रहरी तथा उनीहरुका परिवार र आफन्तहरु समेतलाई निशाना बनाउदै आएका छन्।
Shares
प्रतिक्रिया