हङकङ विमानस्थलमा निशेधाज्ञाको म्याद थप
हङकङको उच्च अदालतले अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबार निषेधाज्ञाको म्याद थप गरेको छ। यो म्याद थपसँगै हङकङका आन्दोलनकारीले विमानस्थलमा अवरोध पुग्ने गरि प्रदर्शन गर्न पाउने छैनन्।
हङकङमा सुपुर्दगी विधेयकविरुद्ध भइरहेको आन्दोलनको क्रममा विमानस्थलमा प्रदर्शन गरि लगातार ५ दिनसम्म अवरोध पुर्याएपछि गत बुधबार न्यायालयले विमानस्थलको प्रदर्शन गैर काुननी ठहर गर्दै अन्तरिक आदेश मार्फत निषेधाज्ञा जारी गरेको थियो।
शुक्रबार निषेधाज्ञाको म्याद सकिएसँगै अर्को सूचना नआएसम्मका लागि उच्च अदालतले फेरि निषेधाज्ञा जारी गरेको हो।
आन्दोलनकारीले सरकार विरोधी प्रदर्शनका क्रममा शनिबार चेपलापकोक विमानस्थल आवातजावत गर्ने सार्वजनिक यातायात ठप्प पार्ने योजना ल्याएपछि अदालतले निषेधाज्ञाको म्याद थप गरेको हो।
उच्च अदालतका न्यायाधीश विल्सन चानले आन्दोलनकारीको योजना बारे सचेत रहेको बताउँदै त्यस्ता गतिविधि गर्न प्रहरीले अनुमती नदिएको बताएका छन्। विमानस्थल प्रशासनले निषेधाज्ञाको म्याद थप गर्न दिएको निवेदन अनुसार बन्देज थप गर्न सहमत भएको उनले बताएका छन्।
आन्दोलनकारीले शनिबार अपरान्ह १२ बजेदेखि विमानस्थल जाने सडक र रेल मार्ग अवरुद्ध गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्, जसले यात्रु, विमानस्थल तथा एयरलाइन्सका कर्मचारीको स्वतन्त्र आवागमन प्रभावित हुने देखिएको छ।
गत हप्ता शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रुप लिएपछि उड्यन अधिकारीहरुले विमानस्थलमा हुने धर्नाविरुद्ध प्रतबिन्ध लगाउन उच्च अदालतमा निवेदन दिएका थिए। धर्नाको कारण दुई दिनमा झन्डै एक हजार उडान रद्द भएको थियो।
यसैबीच विमानस्थल प्रशासनले विमानस्थलको कामकारबाहीमा खलल नपुर्याउन सबैमा आग्रह गरेको छ।
प्रतिक्रिया