हङकङ हस्तान्तरणको २४औं वार्षिकोत्षव नजिकिँदै गर्दा हङकङकी प्रमुख कार्यकारी क्यारी लाम आफ्नो दलबलसहित मुख्य भूमि चीनको कम्युनिस्ट पार्टीको १००औं वार्षिकोत्सवमा सहभागी हुन सोमबार बेजिङ जाने भएकी छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार दुवै वार्षिकोत्षव एकै दिन जुलाई १ का दिन परेको हुँदा लामले हङकङलाई भन्दा मुख्य भूमि चीनलाई प्राथामिकता दिएकी छन्।
हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारीको उपस्थिति हुने परम्परा यसपटक तोडिने भएको छ। सन् १९९७ पछि हस्तान्तरणको औपचारिक उत्सवका बेला पहिलोपटक प्रमुख कार्यकारी हङकङबाहिर हुने हो। लामका साथ थुप्रै वरिष्ठ राजनीतिकर्मी तथा व्यसायीसहित ६० भन्दा बढी जम्बो टोली बेजिङ जाने भएको छ।
बेजिङमा रहँदा लामले हङकङको वस्तुस्थितिबारे राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने अनुमान गरिएको छ। तर विश्लेषकका अनुसार बेइजिङले लामलाई अर्को वर्ष मार्चमा हुने प्रमुख कार्यकारीको निर्वाचनका लागि समर्थन गर्छ कि गर्दैन भन्ने बारेमा कुनै संकेत पाइएको छैन।
चिनियाँ कम्युनिस्ट पार्टी सन् १९२१ जुलाई १ मा स्थापना भएको थियो भने हङकङ बेलायतको १५६ वर्ष लामो उपनिवेशबाट सन् १९९७ जुलाइ १ का दिन मुख्य भूमि चीनमा हस्तान्तरण भएको थियो।
अमेरिका र पश्चिमा मुलुकको चेपुवामा परेको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको १००औं वार्षिकोत्षवमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने अनुमानसमेत गरिएको छ।
समारोहमा चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार, राष्ट्रिय नेता, अन्तर्राष्ट्रिय संगठनका नेता, पीएलए, पीएपी, मिलिटिया र अन्य संरचनाको ठूलो उपस्थिति रहनेछ।
प्रतिक्रिया