हङकङका पूर्व गभर्नर क्रिस प्याटेनले हङकङमा जारी आन्दोलनमाथि बेइजिङको हस्तक्षेप चीन र हङकङ दुबैका लागि घातक हुने चेतावनी दिएका छन्।
हङकङमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यसलाई रोक्न बेइजिङले हस्पक्षेप गर्ने चर्चा चलिरहेका बेला पूर्व गभर्नरको यस्तो भनाई आएको हो। प्याटेन हङकङलाई मातृभूमि चीनमा हस्तान्तरण गर्नु पूर्व हङकङका लागि अन्तिम गभर्नर हुन्।
उनले आन्दोलनमाथि बेइजिङको हस्तक्षेप चीन र हङकङ दुबैलाई घातक हुने भन्दै सावधनी गराएका छन्।
‘राष्ट्रपति सी चिनफिङले बुद्धिमतापूर्वक जनतालाई एकजुट गर्ने प्रयास गर्नेछन्’, बीबीसीसँग कुराकानी गर्दै पूर्व गर्भनर प्याटेनले भने, ‘आन्दोलन नरोकिँदा चीनले दिने चेतावनी प्रत्युत्पादक हुनेछ, जुन चीन र हङकङ दुबैको लागि विपत्तिजनक हुनेछ।’
उनले राष्ट्रपति सीले पद सम्हाले यता जताततै असन्तुष्टि बढेको र असन्तुष्टहरूको आन्दोलनविरुद्ध सरकार कडा रुपमा उत्रिएको आराेप लगाए।
‘बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसै हप्ता लन्डनमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई चीनले हङकङमा हस्तक्षेप गरे ‘विपत्ति’ हुने कुरामा वासिङ्ट्नलाई सहमत गराउन लगाउनु पर्छ’, उनले भने, ‘मलाई धेरै आशा छ कि यो जारी १० हप्ता लामो आन्दोलन पछि पनि हङकङ सरकार र राष्ट्रपति सीले जनतालाई एकै ठाउँमा ल्याउने वातावरण मिलाउने छन्।’
प्रमुख कार्यकारी क्यारी लामका अनुसार विरोध प्रदर्शनबाट तहसनहस भएको हङकङले यथास्थानमा आउन लामो समय लाग्ने बताउदै हिंसा रोकिए पछि अर्थव्यवस्था पुनर्निर्माण गर्न उनी जिम्मेवारीपूर्वक लागि पर्ने बताइन्।
बढ्दो निराशा र सरकारले कुनै किसिमको सहज वातावरण सिर्जना नगरिदिँदा त्यसले थप हिंसा निम्त्याउने प्याटेन तर्क छ। उनी भन्छन्, ‘म विश्वास गर्न सक्दिनँ कि क्यारी लामको स्थितिमा कुनै पनि तर्कसंगत व्यक्तिले वास्तविक अनुसन्धान आयोगको विरूद्ध मुद्दा चलाउनेछ, यो समस्याको समाधानका लागि मेलमिलापको आवश्यकता छ।हङकङमा अमनचयन कायम गर्न, शान्ति र स्थिरतामा फर्कन यो मात्र एक उपाय हो।’
हङकङमा प्रदर्शनकारीहरुले १० दिनदेखि दैनिक विरोध प्रदर्शन र धर्ना दिने गतिविधि गरिरहेका छन्।
प्रतिक्रिया