नेपालीहरुको घनाबस्ती रहेको हङकङको जोर्डनस्थित एक सिफुड रेस्टुरेन्टमा आगलागी भएको छ।
बुधबार अपरान्ह ३ः३५ बजे २१० नाङकिङ स्ट्रिटस्थित एक सिफुड रेस्टुरेन्टको किचनमा आगो लागेको हो। उक्त आगलागीलाई नियन्त्रणमा लिन बारुणयन्त्र र उद्दारकर्मीहरुलाई झन्डै २० मिनट लागेको थियो।
आगलागीको कारणबारे अनुसान्धन गरिरहेको प्रहरीले जनाएको छ।
दिउँसोको समयमा आगलागी भएका कारण मानवीय क्षति हुन नपाएको प्रत्यक्षदर्शी ग्लोबल साइबरका सञ्चालक सुरज श्रेष्ठले नेपालखबरलाई बताए।
आगलागी भएको भवनको पहिलो तल्लामा साइबर सञ्चालन गर्दै आएका सुरज आफ्नी श्रीमती, छोरो र दुई ग्राहक बसिरहेको बेला झ्यालबाट धुँवा र आगोको मुस्लो देखेपछि अत्तालिँदै सुरक्षित स्थानतिर भागेका थिए। सुरजले भने, ‘बाक्लो धुँवाले वरिपरि पुरै अध्यारो भएको थियो। सायद ताइफुनको कारण पनि उद्दारकर्मीहरु अलि ढिला गरेर आइपुगेका हुन कि जस्तो पनि लाग्यो, तर पनि समय मै बारुणयन्त्रहरुको प्रयोगले आगो नियन्त्रण हुन सक्यो।’
उनले सुरक्षाका कारण साइबर नछिरेको बताउँदै साईबरमा पनि केही क्षति भएको हुनसक्ने अनुमान गरे।
८ तल्लाको सो भवनको हरेक तल्लामा नेपालीहरुको बसोबास रहेको सुरजले बताए।
निकै पुरानो बस्ती रहेको उक्त क्षेत्रमा नेपालीहरुको घना बस्ती रहेको छ।
प्रतिक्रिया