हङकङ सरकारले आफ्ना नागरिकलाई चार हजार डलर बाँडेको केही महिना नबित्दै फेरि आठ हजार डलर वितरण गर्न माग भएको छ।
हङकङको कार्यकारी परिषदका सदस्य तथा न्यु पिपल्स पार्टीकी अध्यक्ष रेजिना ईपले हङकङका सबै स्थायी बासिन्दालाई नगद ८००० हङकङ डलर बाँड्न सरकारसँग आग्रह गरेकी हुन्।
हङकङमा जिल्ला परिषदको चुनाव अगाडि यस्तो माग गरिएको आरटीएचकेले जनाएको छ। सरकारले त्यासो गरेर अहिले राजनीतिक तनाव झेलिरहेका नागरिकलाई खुशी दिन सक्ने रेजिनाको तर्क छ।
अहिले हङकङ सरकारविरुद्ध भइरहेको आन्दोलनले बेजिङ समर्थक पार्टीहरूले लोकप्रियता गुमाउँदै गइरहेका बेला आसन्न जिल्ला परिषदको चुनावलाई लक्षित गरि यस्तो प्रस्ताव गरिएको भन्ने आरोपलाई भने रेजिनाले अस्वीकार गरेकी छन्।
‘मेरो विचारमा त्यसरी नगद बाँड्दा अवश्य पनि हङकङका नागरिक खुशी हुनेछन्, शेयरिङ एन्ड केयरिङ परियोजनामा विविध अप्ठ्यारोका बाबजुद ४००० डलर प्राप्त गर्दा सबै खुशी भएका थिए’, उनले भनिन्।
रेजिनाको न्यु पिपल्स पार्टीले बित्तिय सचिव पौल चानसमक्ष बजेट भाषण अगाडि नगद बाँड्ने प्रस्ताव राखेको हो।
हङकङमा चालू वर्ष आर्थिक मन्दीको सम्भावना रहेको अर्थशास्त्रीहरूले बताएका छन्। रेजिनाले यो वर्षको आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा बढी नहुने बताइन।
चीन–अमेरिका व्यापार युद्ध र हङकङको राजनीतिक तथा सामाजिक अस्थिरताले धेरै मध्यम र साना उद्यमहरु क्षतिग्रस्त हुने अनुमान गरिएको छ।
हङकङ सरकारले सन् २०११ मा नागरिकलाई सिधै ६००० हङकङ डलर बाँडेको थियो भने यो बर्ष ४००० डलर बाँडिरहेको छ।
प्रतिक्रिया