सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्न गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगर र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ।
महावाणिज्यदूत नियुक्त गर्ने प्रक्रिया अन्तर्गत मंगलबार बसेको मन्त्री परिषदको बैठकले रानामगर र ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
सरकारले रानामगरलाई हङकङ र मकाउ तथा ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा संभवतः बिहीबार बस्ने मन्त्री परिषद बैठकले उनीहरूलाई महावाणिज्यदूत नियुक्त गर्नेछ।
‘महवाणिज्यदूत बनाएर रानामगरलाई हङकङ र मकाउ तथा ढकाललाई ल्हासा पठाउने गरी परराष्ट्र मन्त्रालय सरुवा गर्ने निर्णय भएको छ’, मन्त्रीले भने, ‘संभवतः बिहीबार बस्ने मनत्रीपरिषदबाट त्यो निर्णय हुन्छ।’
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यसअघि मन्त्रीपरिषदको एउटै बैठकले अन्य मन्त्रालयबाट परराष्ट्रमा सरुवा गर्ने र महावाणिज्यदूत नियुक्त गर्ने गरिन्थ्यो तर यसपटक भने एउटा बैठकले सरुवा र अर्को बैठकले नियुक्त गर्ने तयारी छ।
परराष्ट्र मन्त्रालय सरुवा हुनुअघि रानामगर झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए भने ढकाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गत दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख थिए।
रानामगर र ढकाल दुवै नुवाकोटका हुन्।
हङकङ र मकाउका लागि उदयबहादुर रानामगर जनजाति समुदायबाट पहिलो महवाणिज्यदूत हुनेछन्।
हङकङमा बसोबास गर्ने बहुसंख्यक नेपाली जनजाति समुदायको रहेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङले जनजाति समुदायबाट महावाणिज्यदूत पठाउन माग गर्दै आएको छ।
यो पनिः
हङकङमा जनजाति समुदायबाट पहिलो महावाणिज्यदूत बन्दै उदय रानामगर
प्रतिक्रिया