एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका पाण्डे भन्छन्ः ढुक्क भएर कम्पनीको सेयर किन्नुहोस्

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका पाण्डे भन्छन्ः ढुक्क भएर कम्पनीको सेयर किन्नुहोस्

नेपालखबर
साउन १४, २०७७ बुधबार ८:४७,

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले यही साउन १६ गते झण्डै ३४ करोडको आईपीओ निष्काशन गर्दै छ।

नेपालको जलविद्युत् क्षेत्रमा गैरआवासीय नेपालीको तर्फबाट लगानी गर्ने गरी स्थापना भएको कम्पनीले आईपीओ बिक्री गर्दैगर्दा यस क्षेत्रलाई लगानीकर्ताले कसरी लेलान् भन्ने पनि एकातिर छ।

खासगरी कम्पनीको आईपीओमा लगानीकर्ता कति आकर्षित होलान्? हाल जलविद्युत् कम्पनीहरुको सेयरमा मानिसहरुको त्यति लगानी आकर्षण नरहे पनि एनआरएन इन्फ्रास्ट्रक्चरका बोर्ड निर्देशक कृष्ण पाण्डे भने ३४ लाख कित्ता सेयर बिक्री हुनेमा ढुक्क देखिन्छन्।

उनले नेपालखबरसँग भने, ‘यो जम्मा करिब ३४ लाख कित्ता सेयर हो जुन हामी आइपीओबाट सर्वसाधारणलाई बेच्दै छौँ। त्यसमा हामीले भेन्चर क्यापिटलहरुलाई छुट्याएको करिब १ लाख ६० हजार कित्तामा ३ गुणा बढी आवेदन आइसकेको छ। यसबाट के थाहा हुन्छ भने विविध क्षेत्रमा लगानी गरिने कम्पनी भएको हुँदा यसको मौलिकता नै भिन्दै छ। सजिलै सबस्क्राइब हुनेछ।’

त्यस्तै उनी साधारण सेयर नबिके संस्थापक सेयर सदस्यले स्वतः लिन पाउने नियम भएकाले संस्थापक सेयरधनीबाट पर्याप्त प्रतिबद्धता आएको बताउँछन्।

यो कम्पनी संसारभर छरिएर रहेका नेपालीहरुको पुँजी र सीपलाई एकीकृत गरी इन्फ्रास्ट्रक्चरका क्षेत्रहरुमा लगानी गरी राष्ट्रनिर्माणमा जुट्नुपर्छ भन्ने अभिप्रायले सन् २०१२ मा यो कम्पनीको सुरुवात भएको थियो। हाल कम्पनीले नेपालको चारवटा जलविद्युत् परियोजनामा लगानी गरेको छ। दोर्दी, मध्यतमोर, लिखु र माथिल्लो मैलुङमा कम्पनीको लगानी छ।
यी परियोजनामध्ये २७ मेगावाटको दोर्दी ३ महिनाभित्र सम्पन्न भएर परीक्षणमा जाने पाण्डे बताउँछन्। विभिन्न कारणले ढिला भए पनि लागत नबढेको उनको दाबी छ।

उनले भने, ‘काठमाडौँबाट ५ घण्टामा पुगिने दोर्दी सम्पन्न गर्न भुइँचालो र नाकाबन्दीलगायतका कारण २ वर्ष ढिलो भयो। तर यति हुँदाहुँदै पनि प्रोजेक्ट कस्ट (लागत) बढेन।’

समग्रमा दोर्दीबाट कम्पनी निराश हुनु नपरेको उनी बताउँछन्।

‘दोर्दी छिट्टै रेभेन्यु जेनेरेट गर्ने तहमा पुग्दै छ। बाँकी तीनवटा प्रोजेक्टहरु जहाँ हामी लगानी गरेका छौँ, मिडल तमोर ७३ मेगावाट, लिखु २८.१ र माथिल्लो मैलुङ १४ मेगावाट सानिमा ग्रुपबाट निर्माण भइरहेका प्रोजेक्टहरु हुन्’, उनले भने, ‘सानिमा ग्रुप आफैँमा अनुभवी, सक्षम र यो क्षेत्रका विज्ञहरुको ग्रुप हो र छानिएका प्रोजेक्टहरु नेपालकै उत्कृष्ट प्रोजेक्टहरु हुन्।’

एनआरएनले हाइड्रो सेक्टर नै किन रोज्यो त भन्ने प्रश्नमा पाण्डेले भने, ‘स्थापनाको समयमा नेपालमा १८ घण्टा लोडसेडिङको अवस्था थियो। सोही कारण हाम्रो लागि हाइड्रोपावरमा लगानी गर्नु प्राथमिकताको विषय बन्यो।’ तदनुरुप उक्त चारवटा हाइड्रो प्रोजेक्टहरुमा लगानी गरेको उनको भनाइ छ। यी चारवटाको कुल उत्पादन करिब १४५ मेगावाट हुन्छ।

हाइड्रो क्षेत्रमा लगानी सुरक्षित छैन भन्नेहरुलाई उनी सानिमा माई हाइड्रोको रिपोर्ट हेर्न आग्रह गर्छन्। कम्पनीको सेयर प्रतिकित्ता २ सय आसपास घुमिरहेकोले हल्लाको पछि हिँड्न नहुने उनी बताउँछन्।

कम्पनीले बिक्री गर्न लागेको सर्वसाधारण सेयर किन किन्ने त? उनी भन्छन्, ‘यो कुनै विशेष उत्पादनमा आधारित कम्पनी होइन। राष्ट्रिय आवश्यकताको आधारमा लगानीलाई विविध पोर्टफोलियोहरुमा इन्भेष्ट गरिने भएकाले भिन्नै प्रकृतिको कम्पनी हो।’

आगामी केही महिनामै दोर्दीको उत्पादन हुने र सञ्चित रकमबाट समेत गरी यही आवबाट मुनाफा दिन सुरु गर्ने पाण्डे बताउँछन्।

उनले भने, ‘बाँकी ३ वटा प्रोजेक्ट २०२१ देखि २०२२ को अन्त्यसम्म सम्पन्न भइसक्ने हुँदा हामी आगामी ३ वर्षपछि ३०–३५ प्रतिशतसम्मको मुनाफाको भरपर्दो आशा गर्न सक्छौँ।’ त्यही भएर ढुक्क भएर सेयर खरिद गर्न उनको आग्रह छ।

हालसम्म हाइड्रोमा मात्र लगानी गरेको कम्पनीले अब सुरुङ मार्ग, रेल मार्ग, राजमार्ग, होटल, बीमा, सञ्चार,थिम पार्क, केवलकार, तापीय वायु, सौर्य आदि प्राथमिक ऊर्जाको स्रोतको प्रयोगबाट विद्युत् शक्ति उत्पादनलगायतका राष्ट्रिय आवश्यकताका क्षेत्रहरुमा लगानी गर्ने सोच बनाएको उनी बताउँछन्।

त्यस्तै स्टार्टअप प्रकृतिका परियोजनामा पनि लगानी गर्ने कम्पनीको योजना सुनाउँछन् पाण्डे।

उनले भने, ‘२०१५ को भुइँचालो र त्यसपछिको नाकाबन्दीले हामीलाई केही पछाडि धकेल्यो। तर अब समय फेरिएको छ। कोभिड १९ ले पनि अब हामीलाई हाम्रा लगानीका आगामी रणनीतिहरु फरक ढंगले बनाउन र अघि बढाउन प्रेरित गर्नेछ।’

हाल यो कम्पनीमा ७ सय ९५ जना सेयर सदस्य छन्।

गैरआवासीय नेपालीको कम्पनीमा पुँजीको कमी त थिएन होला, ग्रोअप अलि ढिला भएन भन्ने प्रश्नमा उनले भने, ‘हामीले प्रत्येक एजीएम (वार्षिक साधारणसभा)हरुमा सेयर होल्डरहरुबाट फेस गर्नुपरेको एउटा प्रेसर भनेको पुँजी थप किन नगर्ने भन्ने हो।’

पुँजीको कमीभन्दा पनि सबैभन्दा महत्वपूर्ण कुरा आइपीओमा जानैपर्ने भएकाले त्यो पनि अब पूरा हुनलागेको उनले बताए।

उनले भने, ‘यति धेरै संख्यामा सेयर होल्डरहरुको लगानी भएको कम्पनी, त्यो पनि सबै जना विदेशमा बस्ने, आइपीओमा नजाँदा सेयर होल्डरहरुको एक्जिट पोइन्ट नै अवरुद्ध भएको थियो। जुन कुरा हाम्रो लागि अत्यन्तै पीडादायक थियो। अब थप पुँजी कल गर्न र स्पिड अप गर्न मार्गप्रशस्त भएको छ।’

हाल गैरआवासीय नेपाली संघले १० अर्बको लगानी कोषको प्रक्रियाबारे पनि चर्चा छ।

यी दुवै एकै प्रकृतिका भएनन् र? उनको उत्तर छ–

हो, एकै प्रकृति दुइ इनिसिएटिभहरु हुन्। सायद हामी समयमै आइपीओमा जानसकेको भए १० अर्बको अवधारणा आउने भन्दा यसैमा पुँजी बढाएर अघि बढ्ने कुरा हुने थियो जस्तो लाग्छ। उपेन्द्र जी, शेषजी गायत सबै जना पूर्वअध्यक्षज्यूहरु, वर्तमान अधक्ष कुमारजी र अहिलेको कार्यसमितिका अधिकांश साथीहरु एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा हुनुहुन्छ। त्यसकारण पनि मर्ज हुने सम्भावना हुनेछ।

यो पनिः
एनआरएन इन्फ्रास्ट्रक्चरको झण्डै ३४ करोडको आईपीओ आउँदै

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .