हङकङमा कोरोना भाइरसका कारण रोकिएको क्युनेट गोरखा ट्रेलब्लेजर दौड प्रतियोगिता अक्टोबर १० मा हुने तय भएको छ।
हङकङमा निकै लोकप्रिय यो प्रतियोगिताको तेस्रो संस्करण गत फेब्रुअरी ८ मा आयोजना गर्ने सम्पूर्ण तयारी पूरा भैसकेको अवस्थामा यहाँ कोरोना संक्रमण बढेपछि स्थगित गरिएको थियो।
आयोजक संस्थाका प्रवक्ता देवराज राईका अनुसार १२ र २६ किलोमीटर दुरीको दौडमा ३० भन्दा बढी राष्ट्रका ३५० प्रतियोगीहरूले नाम दर्ता गराएका थिए।
‘तेस्रो संस्करण आयोजना गर्न निकै उत्साहका साथ पूर्ण तयारी गरेका थियौं, हङकङको आन्दोलन र कोरोना महामारीका बाबजुद सहभागिता उल्लेख्य रहेको थियो’, राईले भने, ‘सहभागीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शुन्य समयमा प्रतियोगिता स्थगित गर्न बाध्य भयौं।’
च्यारिटेबल प्रतियोगिता भएकाले रद्द गरेर दर्ता शुल्क फिर्ता गर्न नमिल्ने भएपछि अक्टोबरमा आयोजना गर्न लागिएको उनले बताए।
‘बिभिन्न कारणले प्रतियोगितामा सहभागी हुन नाम लेखाउन छुटेकाहरुका निम्ति केही नयाँ दर्ता खोल्नेछौं’, राईले थपे, ‘यो दौडमा ५ सयसम्म सहभागी हुन सक्नेछन्, पहिले नाम दर्ता गराएकाहरू अक्टोरमा सहभागी हुन असमर्थ रहे सट्टामा अरुलाई नामसारी गर्न सकिने अवसर पनि दिएका छौं।’
विश्व शान्ति स्थापनार्थ विभिन्न युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको सम्झना र सम्मानमा गोर्खा ट्रेलब्लेजर सन् २०१८ देखि हङकङमा आयोजना गर्न थालिएको हो। गोर्खा सेमेष्ट्रि ट्रस्ट र चाइल्ड वेल्फेर स्किमको संयुक्त आयोजनामा हरेक बर्ष यो प्रतियोगिता आयोजना गरिन्छ।
प्रवक्ता राईले चौथो संस्करण भने सन् २०२१ को फेब्रुअरीतिर आयोजना गरिने बताए।
प्रतिक्रिया