हङकङ सरकारले आफ्नो देशका हरेक बासिन्दालाई निःशुल्क मास्क वितरण गर्ने भएको छ।
आगामी महिनाबाट करोडौको संख्यामा वितरण गर्न लागिएको मास्क प्राप्त गर्न आज (मे ६ तारिख) देखि अनलाइन आवेदन खुला गरिएको हङकङ सरकारले जनाएको छ।
आगामी जुन ६ तारिखसम्म दिन सकिने अनलाइन आवेदनमा आवेदकले हङकङ आइडी कार्ड नम्बर, जन्ममिति, फोन नम्बर र हङकङको आफ्नो ठेगाना उल्लेख गर्नु पर्नेछ।
आवेदन स्वीकृत भएपछि आवेदकले २ हप्ताभित्र हुलाकमार्फत आफ्नै ठेगानमा मास्क प्राप्त गर्न सक्नेछन्।
यस्तै एकै जनाले ६ जनासम्मको आवेदन पेस गर्न सकिनेछ। हल हङकङ बाहिर रहेकाले भने मे १३ तारिखबाट आवेदन दिन सक्ने हङकङ सरकारले जानकारी दिएको छ। तर उनीहरूले आवेदनमा हङकङकै ठेगाना उल्लेख गर्नु पर्नेछ।
अनलाइनबाट आवेदन दिन छुट्नेकाहरूले भने सीधै हुलाकबाट मास्क प्राप्त गर्न सक्नेछन्। प्रतिघर १० वटा मास्क वितरण गर्ने सरकारको लक्ष्य छ।
किन्डरगार्टेन, प्राथमिक विद्यालयका विद्यार्थी, विशेष व्यक्ति तथा ज्येष्ठ नागरिकले भने आवेदन दिन नपर्ने बताइएको छ। उनीहरूलाई सम्बन्धित स्थानमै मास्क उपलब्ध गराइन्छ। साथै घरेलु कामदारले समेत प्रतिव्यक्ति एक/एक मास्क प्राप्त गर्नेछन्।
घरबारविहीनले भने वेल्फेर ग्रुपबाट मास्क पाउनेछन्।
एकपटकदेखि ६० पटकसम्म धोएर पुनः प्रयोग मिल्ने विभिन्न किसिमका ३ करोडभन्दा बढी मास्क वितरण गर्ने हङकङ सरकारको योजना छ। यो मास्क ३ वर्ष भन्दा कम उमेरकाका लागि भने उपयुक्त नभएको बताइएको छ।
मास्कको नाम क्यू (सीयू) हो। क्यू तामाको रासायनिक प्रतीक हो भने अर्को शब्दको अर्थ वान्टिङ टु सि यु अर्थात् तपाईंलाई हेर्न चाहन्छौं हो। जसले सरकार भाइरससँग लड्न जनताका पक्षमा छ भन्ने अर्थ लाग्ने प्रमुख कार्यकारी क्यारी लाम ले बताएकी छन्।
कोर्नोना भाइरसको संक्रमण सुरु भएपछि हङकङमा मास्कको हाहाकार मच्चिएको थियो। वर्षको सुरूमा मास्क किन्न बिक्रेताकहाँ घन्टौं लाइन लाग्दा पनि पाउन कठिन भएको थियो।
त्यसबेला सरकारको आलोचना भएको थियो।
नि:शुल्क मास्क प्राप्त गर्न याे लिङ्कमा गएर अनलाइन आवेदन दिन सकिने छ:
Shares
प्रतिक्रिया