कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन एवं उडान प्रतिबन्धका कारण नेपालमा रोकिएका हङकङेली नेपालीलाई फर्काउने पहल सुरु गरिएको छ।
हङकङमा बसोबास गर्ने तर अहिले नेपालमा रोकिएका आप्रवासी नेपालीलाई हङकङ फर्कने वातावरण बनाउन हङकङस्थित नेपाली महावाणिज्यदूतावास, एनआरएनएलगायत संघ संस्थाले पहल थालेका हुन्।
हङकङमा बसोबासको अनुमति पाएका त्यस्ता ५ सयभन्दा बढी नेपालीलाई फर्काउन पहल भइरहेको एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङले जानकारी दिइन्।
त्यसका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हङकङस्थित नेपाली महावाणिज्यदूतावास, चिनियाँ राजदूतावासमा पनि पत्राचार भइसकेको उनले जानकारी दिइन्।
उनका अनुसार अहिले हङकङ फर्किन चाहने नेपालीको नाम धमाधम संकलन भइरहेको छ।
‘अहिलेसम्म हङकङ फर्कन चाहने साढे ५ सयभन्दा बढी नेपालीले नाम टिपाएका छन्, जुन क्रम बढ्दो छ,’ टीकाले भनिन्, ‘एकपटक हवाईजहाज चार्टर गर्दा कम्तीमा २ करोड लाग्छ, त्यसैले दोहोरो टिकटमा नेपाल गएकाहरूले सोही टिकटमा फर्कन पाउनुपर्ने माग राखेर पहल गरिरहेका छौं।’
उनका अनुसार मेको अन्ततिर हङकङमा स्कुल कलेज खुल्दै छन्। यहाँ आएर पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले नेपालमा रोकिएका हङकङमा अध्ययन गर्ने विद्यार्थीलाई मे १० भित्र फर्काउने लक्ष्य छ।
नेपालमा रोकिएका हङकङेली नेपालीलाई फर्काउन हङकङस्थित नेपाली महावाणिज्यदूतावासले पनि सहजीकरण गरिदिने भएको छ। महावाणिज्यदूत कमलप्रसाद भट्टराईले त्यसका लागि आफूले नेपाल सरकार, हङकङ सरकार, हङकङ अध्यागमन, विमानस्थललगायत जिम्मेवार निकायबीच मध्यस्थता गरिदिने बताए।
‘यस विषयमा एनआरएनएका साथीहरू दूतावासको कार्यलयमै आएका थिए। हङकङको डीएबी पार्टीका साथीहरू पनि हामीसँग चाँडै बैठक बस्ने भएका छन्,’ उनले भने, ‘नामावली पनि प्राप्त भइरहेको छ। दूतावासबाट गर्न सकिने सहयोग बिना कन्जुस्याइँ गरिने छ।’
हङकङस्थित नेपाल वायु सेवा निगमका कन्ट्री म्यानेजर नवराज उपाध्यायले नेपाल सरकारले मे १५ सम्मका लागि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाले यसभन्दा अगाडि हङकङ फर्कन चाहने यात्रुलाई आफूले सक्दो सहयोगका लागि पहल गर्ने बताए।
हङकङ नेपाली महासंघकी पूर्वअध्यक्ष तथा डीएबी एथ्निक माइनोरिटिजको सदस्य रीता गुरुङले यस विषयमा समान अवसर आयोगको तर्फबाट आफुले पहल गरिरहेको बताइन्।
‘एनआरएनएका साथीहरूसँग केही कुरा भएको छैन, सहकार्य गरेर गर्न सक्छौं’, उनले भनिन्।
यो विषयमा डीएबीमार्फत हङकङ सरकारसमक्ष सहायताको आग्रह गरिएको छ। अप्रिल १६ मा डीएबी एथ्निक माइनोरिटिजका तर्फबाट प्रमुख कार्यकारी क्यारीसमक्ष यो माग राखिएको थियो।
कोरोनाका कारण विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी तथा अभिभावक, बेतलबी बिदा पाएका, काम सकिएका, पारिवारिक कामले नेपाल गएका, गर्भवती, बच्चा र वृद्धवृद्धा डिपेन्डेन्ट भिसा थप्नुपर्ने, हङकङ भिसा लागेका आदि समेत हजारभन्दा बढी आप्रवासी नेपाली नेपालमै रोकिएको अनुमान गरिएको छ।
यस्तै पाकिस्तान र भारतमा रोकिएका हङकङेलीलाई पनि धमाधम फर्काउन पहल भइरहेको छ।
प्रतिक्रिया